१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसमा महाधिवेशनको सरगर्मी सुरु : तीनै समूहका नेता आन्तरिक छलफलमा


0
Shares

अक्कल कुँवर
काठमाडौं । शुक्रबार उद्घाटन हुने महाधिवेशनअघि कांग्रेसभित्रका तीन समूहहरू आ–आफ्ना उम्मेदवार चयन र चुनावी रणनीतिमा सक्रिय छन् । महाधिवेशन केन्द्रीत सक्रियता बुधबार ह्वात्तै बढ्यो । संयोगवश बुधबार तीनै समूहको छुट्टाछुट्टै छलफल विहान एकै समयमा सुरु भयो ।

संस्थापन अर्थात सभापति शेरबहादुर देउवा समूहको बैठक देउवा निवास बुढानीलकण्ठ, संस्थापनइतर रामचन्द्र पौडेल समूहको बैठक बत्तिसपुतलीस्थित एक पार्टी प्यालेस र पार्टीभित्र तेस्रो धारको रूपमा चिनिएको कृष्णप्रसाद सिटौला समूहको बैठक सिटौला निवास चण्डोलमा बस्यो ।

संस्थापन समूहको बैठक महाधिवेशनमा सभापतिबाहेक पदाधिकारीका उम्मेद्वार चयनमा केन्द्रीत रह्यो । संस्थापन समूहले सभापतिको उम्मेदवार पार्टी सभापति समेत रहेका देउवालाई नै अघि सारिसकेको छ । इतरपक्ष भने सभापतिकै साझा उम्मेदवार चयनमा केन्द्रीत रहँदा सिटौला पक्षको भेलाले आसन्न महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता सिटौलालाई दिएको छ ।

संस्थापनइतर पक्षको भेलामा सभापतिका आकांक्षीहरू नै उपस्थित नभएपछि सहभागीहरूले सभापतिमा साझा उम्मेदवार चयन गर्न नेतृत्वका आकांक्षीलाई दवाव दिने निर्णय ग¥यो । इतरपक्ष आइतबारदेखि निरन्तर आफ्नो समूहबाट साझा उम्मेद्वार चयन गर्न छलफलमा छ ।

बुधबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति, निर्वतमान जिल्ला सभापति, प्रदेश सभापतिलगायत सहभागी भेलामा नेतृत्वका आकांक्षीहरू नै उपस्थित नभएपछि इतर समूहको नेतृत्व गरिरहेका पौडेल भेलाबाट बाहिरिएर पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेका नेता सिटौलालाई भेट्न सिटौला निवास चण्डोल पुगे ।

दुई नेताहरूबीचको छलफल पनि महाधिवेशन केन्द्रीत नै रह्यो । सिटौलासँगको छलफलपछि नेता पौडेलले महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालासंग छलफल गरे । बत्तिसपुतलीमा आफू निकटहरूको भेला जारी रहँदा बसुन्धारास्थित एक पार्टी प्यालेसमा नेतात्रयबीच मात्रै सीमित छलफल इतरपक्षबाट सभापतिको साझा उम्मेदवार चयनको विषयमै केन्द्रीत रह्यो ।

सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार झण्डै ५ घण्टा बसेको संस्थापन इतर समूहको बैठक बुधबार साझा उम्मेदवार तय गर्ने भन्दै टुङ्गिएको थियो । साझा उम्मेदवार चयनकै लागि बुधबार पनि नेतृत्वका आकांक्षी र उपलब्ध केन्द्रीय नेताहरूबीच छलफल भयो ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्ने तयारी छ । केन्द्रीय निर्वाचन समितिले मंसिर २५ गते ५ बजेसम्म उम्मेदवारको मनोनयनको समय तोकेको छ । २७ गते विहान ८ बजेबाट मतदानको कार्यतालिका तय गरिएको छ ।