
काठमाडौं । नेकपा एमालेले आगामी केन्द्रीय कमिटी बैठकमा १५ वटा विषयमा छलफल गर्ने भएको छ ।
मंसिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा हुने केन्द्रीय कमिटी बैठकमा पार्टीका कमिटीहरुलाई पूर्णता दिइनुका साथै कार्य विभाजन र वरीयता क्रमको निर्धारण हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठक दुवै दिन विहाना ११ बजेपछि सुरु हुनेछ । बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीका सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन हुनेछ ।
यस्तै, बैठकले कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश र तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारित र जनसंगठन सुदृढिकरण अभियानको विषय पनि टुंगो लगाउने तामाङले बताउनुभयो ।
मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको पार्टीको दशौं रााष्ट्रिय महाधिवेशनले एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटी छनोट गरेको थियो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक भने महाधिवेशनस्थल सौराहमै बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्