
डोलराज रानाभाट
चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका– १ की सानुकान्छी चेपाङको घर चिटिक्क छ । उहाँको घरमा धुँवारहित छुट्टै चुलो र भान्सा छ भने, व्यस्थित शौचालय पनि ।
आफूसँगै उहाँले परिवारलाई समेत बदल्दै लैजानुभएको छ । यसरी सोच परिवर्तन गर्न सिकाएको हो चितवनको सौराहामा अवस्थित सपना भिलेज सोसियल इम्प्याक्टले । त्यहाँ सञ्चालित ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजनाले ।
परियोजनाले वडा नम्वर १ को हात्तीवाङबाहेक अन्य सबै गाउँका गरी ५ सय ७० घरधुरीलाई सरसफाई, शिक्षा, स्वास्थ्य, महिला हिंसाबारे करेसाबारी कृषि आदि विषयमा चेतना छरिरहेको छ । जसको प्रतिफल सानुकान्छी जस्तै धेरै महिलाले आफूलाई बदल्दै गाउँलाई समेत परिवर्तनको बाटोमा डोर्याएका छन् ।
परियोजनाले यस वडामा ११ वटा क्लष्टर बनाएर ८ जना सहजकर्ता मार्फत सोच परिवर्तन गराइरहेको छ । जसले सिकाए अनुसारको व्यवहारमा उतार्छ, उसलाई नगद पुरस्कार समेत दिइन्छ । सरसफाई सहितका सूचक पूरा गर्दा सानुकान्छीले नगद पुरस्कार हात पार्नुभयो । त्यस्तै चौकी डाँडाकी कृष्णमाया चेपाङ ११ क्लष्टरमै उत्कृष्ट हुनुभयो ।
विभिन्न क्षेत्रमा पछि परेका चेपाङहरूको सोच परिवर्तन गराउँदै ती क्षेत्रमा सुधार ल्याउन वि.सं. २०७६ माघ १ गतेदेखि सुरु भएको परियोजनाबाट अहिले उनीहरूमा परिवर्तन आएको परियोजना निर्देशक सुजन बस्नेतले बताउनुभयो ।
परियोजनाका संस्थापक एवं अध्यक्ष ध्रुव गिरीले क्लष्टरभित्रनै प्रतिस्पर्धा गराएर प्रथम हुने परिवारलाई नगद रु.१६ हजार, दोस्रो हुनेलाई १२ हजार, तेस्रो हुनेलाई १० हजार, चौथो हुनेलाई ७ हजार र पाँचौ हुनेलाई ५ हजार प्रति क्लष्टर प्रदान गरिएको बताउनुभयो ।
तीन वर्षसम्म सञ्चालन हुने परियोेजनाले यो दोस्रो पटक मात्रै करिव ५८ घरपरिवारलाई करिव ६ लाख नगद पुरस्कार वितरण गरेको अध्यक्ष गिरीको भनाइ छ । गाउँपालिकाको समेत सहकार्य रहेको परियोजनाले चेपाङ महिलामा बढेको आत्मनिर्भरता र विश्वासी आँटले आफ्नो आर्थिक अवस्था समेत उकास्दै लगेका छन् ।
चेपाङ महिलाहरुको समग्र विकासका लागि राज्यले पनि केन्द्र तहबाटै तोकेरै कार्यक्रम ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्