१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मीन विश्वकर्माद्वारा कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बिहीबार काठमाडौंम पत्रकार सममेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो ।

पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरू उठाउन गाह्रो भएको सुनाउँदै नेता विश्वकर्माले सह–महामन्त्रीमा उम्मेदवारी दिनुको कारण बताउनुभयो । स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उहाँको भनाइ छ ।

नेता विश्वकर्माले समग्र देशको हितका लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने बताउनुभयो । नेपालको आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा भएको उहाँको भनाइ थियो ।

देउवा पराजित भएमा मुलुकको राजनीतिको नेतृत्व पनि बदल्नुपर्ने भन्दै मुलुकको राजनीति बदल्नुपरेमा मुलुक अस्थिरतातिर जाने नेता विश्वकर्माको जिकिर छ । नेतृत्व परिवर्तन भएमा सरकार बदलिने र सरकार बदलिएमा निवार्चन अनिश्चित हुने उहाँको भनाइ छ ।

‘पार्टीको नेतृत्व परिवर्तन भए सरकार बदलिन्छ, सरकार बदलिए निर्वाचन अनिश्चित हुन्छ र त्यसो भएमा व्यवस्था नै अनिश्चितताउन्मुख हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसले देशको राजनीतिमा ठूलो प्रभाव पार्छ ।’

भोलिको दिनमा पनि आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा नै भएकोले अहिले सभापतिमा देउवालाई भोट दिन पनि नेता विश्वकर्माले अपिल गर्नुभयो । उहाँले कांग्रेस समावेशी पार्टी भएको उल्लेख गर्दै सबै समूहलाई सशक्त रुपमा अगाडि बढाउने कांग्रेसले दलित राष्ट्रिय आयोगको गठन गरेको पनि स्मरण गराउनुभयो ।