२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रतिवेदन केन्द्रीय समितिबाट पारित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा मतपत्र नै प्रयोग हुने भएको छ ।

बिहीबार पार्टी कार्यालयमा सानेपामा बसेको १३औं निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनमा मतपत्रको नै व्यवस्था गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

शर्माले भन्नुभयो, ‘कांग्रेसमा डिजिटल भोटिङको विषयमा चर्चा भइरहँदा कागजमै भोट हाल्ने निर्णय भएको छ ।’

यस्तै, बैठकले महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको लेखासम्बन्धी प्रतिवेदन केही सुझाव सहित पारित गरिएकाे छ । कोषाध्यक्ष यादवले पेश गरेको प्रतिवेदनमा पार्टीको अहिले १० करोडभन्दा बढी रकम कोषमा बचत रहेको उल्लेख छ ।

बैठकले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरेको छ । अब यी प्रतिवेदनलाई छलफलका लागि पार्टीको महाधिवेशनमा प्रस्तुत गरिनेछ ।

पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव भने लगिएन । दुई सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने प्रस्ताव ठिक्क पारिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि प्रकट गरेसँगै यी प्रस्तावहरु नलगिएको हो ।

यद्यपि प्रवक्ता शर्माले भने महाधिवेशनको मुखैमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दा महाधिवेशन प्रभावित हुनसक्ने तर्क प्रस्तुत गर्नुभयो ।