
काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडाैंमा हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपमा तयारी पूरा भएको कांग्रेसले जनाएकाे छ ।
कांग्रेसको १४ औं महाधिवेशन र त्यसपछि कांग्रेसकाे सन्दर्भमा ईमेजखबरका लागि रामेश्वर सापकोटाले कांग्रेसका पूर्व उप-सभापति एवं पूर्व उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेसको १४औं महाधिवेशनको तयारी कहाँ पुग्यो ?
महाधिवेशनको तयारी लगभग सकिएको छ । केही कामहरू धमाधम भइरहेका छन् ।
तपाईं संस्थापन पक्षको नेता हुनुहुन्छ । तपाईंले पनि सभापतिमा उम्मेदवारी दाबी गर्दै आउनुभएको छ । अहिलेसम्म दाबी छोड्नुभएको छ कि छैन ? देउवाले पनि आफू सभापतिको उम्मेदवार बन्ने बताइसक्नु भएको छ नि ?
होइन मैले मेरो दाबी छोडेको छैन । सहमतिमा देउवाले मलाई छोड्नुहुन्छ भन्ने मेरो आश छ । मैले सभापतिसँग कुरा गर्न बाँकी नै छ । मिलेसम्म हामी सहमतिमै टुंग्याउँछौ । देउवाले मलाई १३औं महाधिवेशनका बेला १४औं महाधिवेशनमा सहयोग गर्छु भन्नु भएको थियो ।
संस्थापन पक्षमा पनि पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संसोधन गरेर वरिष्ठ उप–सभापतिको पद सिर्जना गर्ने चर्चा छ नि !
त्यो साँचो होइन । त्यस्तो कुरा कतैबाट आएको छैन ।
संस्थापन इतरका नेताहरूले त १३ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएपछि कांग्रेस ध्वस्त भयो भन्ने आरोप लगाउने गरेका छन् । १३ औं महाधिवेशनपछि १४ महाधिवेशनसम्म आइपुग्दा देउवा नेतृत्वको कांग्रेसलाई तपाइँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोज्नुभएको छ । पार्टी पनि राम्रोसँग चलिरहेको छ । संस्थापन इतरका नेताको आरोप निराधार छ ।
महाधिवेशनका बेला कांग्रेसमा अहिले गुट उपगुट देखिएका छन्, आगामी तीनै तहको निर्वाचनमा यसरी गुट उपगुटमा विभाजित भएको कांग्रेसले सोचे अनरुप परिणाम ल्याउन सक्छ त ?
महाधिवेशनमा कांग्रेसका नेताहरूबीच आन्तरिक प्रतिस्पर्धा हुने हो । यो प्रजातान्त्रिक पार्टीमा हुन्छ नै । जहाँसम्म निर्वाचनको कुरा छ, महाधिवेशनपछि कांग्रेस एक हुन्छ । कांग्रेस नेता कार्यकर्ता एक भएर निर्वाचनमा लाग्छन् । त्यसले हामीले सोचे अनुसारको परिणामा आउँछ । कांग्रेसमा गुट उपगुट पनि रहदैन ।
कांग्रेसमा पुस्तान्तरणको कुरा गर्दा फेरि नेतृत्वमा त तीनै पाका र पुरानै नेता आउने जस्तो देखिएको छ नि ?
पुराना र नयाँ भनेर भन्ने कुरा होइन । त्यो सबै निर्णय महाधिवेशनले नै गर्छ ।
अहिले कांग्रेस नेतृत्वको सरकार छ, सरकारले जनअपेक्षा अनुसार काम नगरेको गुनासो आइरहेको छ त ?
सरकारले काम गरिरहेकै छ । जनअपेक्षालाई पूरा गर्न सबै लाग्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्