१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजाले प्रयाेग गर्ने बग्गीका कहानी : कुन बग्गी केका लागि ?


2.431k
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । राजामहाराजाहरूको इतिहास फगत बखान मात्र नभएर संग्रहालय पनि हो । नेपाली सेनाले आफ्नो क्याभलरीमा संरक्षण गरी राखेका बग्गीहरूले नेपाली इतिहासको वैभव चिनारी दिन्छ ।

राणा प्रधानमन्त्री जंगबहादुर, जुद्धशमशेर, भीमशमशेर, चन्द्र शमशेर हुँदै शाह परिवारका राजामहाराजाले समेतगरी २१ बग्गीको उपयोग गरे । बग्गीका आ–आफ्नै विशेषता छन् । राजसंस्थाको अन्त्य भएसँगै सेनाले इतिहासका नासो संरक्षण गरेको छ ।

दशकौं अघि प्रयोगमा ल्याइएका र अहिले थान्को लागेका बग्गीहरूको आफ्नै कथा छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले प्रयोग गर्ने गरेको झण्डावालको नामले परिचित बग्गीको बनावट रोचक छ । ब्यारेकमा भए मध्ये यो निक्कै ठूलो आकारमा छ ।

झण्डावाल बग्गी

बेलायतबाट ल्याइएको ‘झण्डावाला बग्गी’भित्र शौचालयको समेत प्रबन्ध छ । जंगबहादुरको शासनकालमा राणाहरूको मनोरन्जनका लागि मोटर कोचका रूपमा यसको उपयोग गरिन्थ्यो ।

राजपरिवारको शुभ कार्यहरूमा प्रयोगमा ल्याइने बग्गीको नाम हो कालो सालेबम बग्गी । भीमशमशेरको पालामा यसलाई नेपाल भित्र्याइएको हो ।

कालो सालेबम बग्गी

राजा वीरेन्द्रले प्रयोग गर्ने गरेको स्टेट कोच १ बग्गी भारतको कोलकाताबाट ल्याइएको हो, जुन अन्तिम समय राजा ज्ञानेन्द्र २०५८ सालमा पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्दा प्रयोगमा ल्याइएपछि थन्किएको हो ।

स्टेट कोच १ बग्गी

सन् १९८० मा कोलकाताबाट ल्याइएको अर्को स्टेट कोच २ भने पूर्वरानीहरूका लागि उपयोग हुन्थ्यो । यो दिल्ली झप्पावाल नामले परिचित बग्गी हो । यसको प्रयोग अधिराजकुमार र अधिराजकुमारीको शुभकार्यमा प्रयोग हुने गरेको थियो ।

स्टेट कोच २ बग्गी

पछिल्लो समय पूर्वयुवराज पारस शाहको विवाहपछि यो बग्गी उपयोगविहीन बनेको छ । चार लाल्टिन ल्याण्डुको उपयोग कुटनीतिज्ञका लागि प्रयोग हुन्थ्यो । ओहोदाको प्रमाणपत्र पेश गर्न आएका कुटनीतिज्ञहरू यो बग्गीको प्रयोग गर्थे ।

निक्कै नै आकर्षक र इतिहास बोकेका यी बग्गीहरूको प्रयोग नेपाली सेनाले औपचारिक समारोहमा गर्ने गरेको छ । आकारमा ठूला बग्गीहरू भने चलाउन सक्ने अवस्थामा नरहेकाले यतिकै राखिएका छन् ।

बग्गी संरक्षण गरि राखिएको बग्गी ब्यारेज

दशकौंदेखि प्रयोगमा नल्याइए पनि नेपाली सेनाले सरसफाइ र मर्मत सम्भार गरेकाले यसको संरक्षणमा खोट लाउने ठाउँ छैन । यी बग्गीजस्तै अन्य संग्रहालयका सम्पदाको पनि संरक्षण हुन जरुरी छ ।