१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने बताउनुभएको हो ।

उहाँले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताउनु भयो ।

उहाँले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताउँदै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

अध्यक्ष मगरले नेपालमा ३० प्रतिशत नागरिकमा मात्रै खोपको पहुँच पुगेको भन्दै सरकारले खोपको मात्रमा वृद्धि गर्दै सबै नागरिकको पहुँचमा पु¥याउनु पर्ने बताउनु भयो ।

अध्यक्ष मगरले दिगो विकासका १७ वटा लक्ष्यहरू मानव अधिकारसँग सम्बन्धित भएकोले यसलाई जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । उहाँले मौलिक हकको कार्यान्वयन तथा मानव अधिकारसँग सम्बन्धित नीतिहरुको कार्यान्वयन अवस्थाको पनि समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।