
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसबाट देशलाई ठूलो आशा रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताउनुभयो ।
राजनीतिक दलमा भएको विचलका कारण जनताले दुःख पाइरहेको भन्दै उहाँले राजनीतिक दलहरुले आफूलाई सुधार्दै लग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ठाकुरले न्यायपालिका र व्यवस्थापिकामा समस्या देखिएको भन्दै त्यसको छिटोभन्दा छिटो समाधान भए मात्रै जनतालाई सहज हुने बताउनुभयो ।
वर्तमान संविधानसँग आफूहरुको असन्तुष्टि रहेको भन्दै अध्यक्ष ठाकुरले संविधानप्रति असन्तुष्टि प्रकट गर्दा भएका आन्दोलनकारी आफ्ना नेता तथा कार्यकर्तालाई जेलबाट निकाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो ।
अध्यक्ष ठाकुरले आफ्ना केही माग सम्बोधन गरेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिनुभयो ।
आफूहरुले धेरै समय कुरेको र धेरै समय झुलाइएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले छिटोभन्दा छिटो समस्या समाधान गर्न आग्रह गर्नुभयो । अन्यथा ज्वालामुखीको रुपमा आफ्नो पार्टी सडकमा आउने उहाँको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्