३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


नेपाली कांगेसको १४ औं महाधिवेशन रोचक मोडमा : रामचन्द्र पौडेल सभापतिको उम्मेदवारबाट बाहिर

देउवा टिममा सिटौलाको प्रवेशसँगै विद्रोहको तयारी

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढेको छ । संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गर्नुभएका पौडेलले आफ्नै नाममा सहमतिका लागि प्रयास गर्नुभएको थियो ।

आफ्नो समूहमा कोही ब्यक्तिमाथि सहमति भएमा आफू उम्मेदवार नहुने उहाँको भनाई थियो । तर, सो समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हट्नुभएको हो । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।

यता संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौलाको औपचारिक प्रवेश भएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले त्यहाँबाट विद्रोह गर्ने हुनुभएको छ । १३ औं महाधिवेशनदेखि सभापति शेरबहादुर देउवा पक्षमा रहनुभएका प्रवक्ता शर्माले १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

तर, संस्थापन पक्षले सिटौलालाई टिममा राख्न प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूह त्याग्ने निश्चित भएको हो । नेपाल विद्यार्थी संघका पूर्वसभापति शर्मा कांग्रेस प्रवक्ताका रुपमा कार्यरत हुनुहुन्छ ।

युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने चर्चा थियो । सोही अनुरुप शर्माले देशव्यापी अभियान पनि चलाउनुभएको थियो । तर, अन्तिम समयमा सिटौला समूह संस्थापनमै मिसिएर शर्माको ठाउँमा प्रदीप पौडेल अघि आएपछि शर्माले देउवा समूह छाड्ने निश्चित देखिएको छ ।