१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसलाई बेलायको चेतावनी, ‘युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्छ’


0
Shares

काठमाडौं । ब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

उहाँले यसै सप्ताहान्तमा लिभरपूलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताउनुभएको छ ।

ट्रसले यूके र उसका साझेदारहरूले युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने कारबाहीलाई रोक्नुपर्नेमा जोड दिनुभएको छ ।

युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ । तर क्रेमलिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ ।

रुस र युरोपेली संघ दुवैतर्फ सीमा जोडिएको युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ । युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो ।

अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार उक्त क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक भएको थियो ।

बाइडनले उक्त बैठकमा आफूले पुटिनलाई स्पष्ट रूपमा यदि युक्रेनमा हमला गरिए उनले कहिल्यै सामना नगरेको आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएको बताउनुभएको छ ।