
काठमाडौं । नेपाली कांग्रेसको कल्याण गुरुङले आफू सभापतिका उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले कांग्रेसको पुस्तान्तरणको लागि महाधिवेशन प्रतिनिधिहरुले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफूले फिर्ता लिन वा पदको बार्गेनिङ गर्नका लागि सभापतिमा उम्मेदवारी दर्ता नगरेको पनि स्पष्ट पार्नुभयो । परिवर्तन, समानता र न्यायको पक्षका लागि आफ्नो उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
उहाँले पार्टी विधानअनुसार नचलेका कारण समस्या उत्पन्न भएको भन्दै आफूले विधानअनुसार पार्टी सञ्चालन गर्ने बताउनुभयो । उहाँले आफूले सभापति हुनेबित्तिकै १५औं महाधिवेशनको मिति र स्थान घोषणा गर्नेसमेत जानकारी गराउनुभयो ।
नेता गुरुङले आफू चर्चामा आउनका लागि वा वरिष्ठ नेताको पद सुरक्षित गर्नको लागि सभापतिमा उम्मेदवारी नदिएको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै पार्टीलाई युवापुस्ताले चलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्