१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घाइते अर्थतन्त्र झन् मर्माहत हुँदै, अर्थमन्त्रीका एकपछि अर्को योजना असफलताको बाटोमा


351
Shares

नारायणी लामिछाने
काठमाडौं । अर्थमन्त्रालयलाई विशुद्ध प्राविधिक मन्त्रालय मानिन्छ । यो मन्त्रालय हाँक्ने सारथीले त्यहाँको संरचनागत मूल्य बुझ्ने मात्र हैन, तीन करोड जनताको व्यवस्थापकीय अभिभावकत्व लिने क्षमता राख्नुपर्छ ।

अझ राजश्व जम्मा गर्ने जिम्मेवारी बोकेको मानिस फूलबाट पराग जम्मा गर्ने मौरीजस्तै हुनुपर्छ भन्ने मान्यता छ । अर्थशास्त्रमा भावना नभई अंकको वर्चस्व रहन्छ ।

संघीय संसदको अर्थसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संकटतिर उन्मुख अर्थतन्त्रको अवस्था प्रस्तुत गर्दै हालको अवस्था आउनुको दोष पुराना नीति र निर्णयलाई दिएर आफू पन्छनुभयो । तर्कबाटै अर्थशास्त्रीय ज्ञानको कमजोरी लुकाउन सक्रिय रहँदै आउनुभएका मन्त्री शर्माले ७ प्रतिशत आर्थिक वृद्धिद्धर हुने दाबी समेत गर्नुभयो ।

दाबीमा वस्तुगत आधार थिएन । बरु आफूमाथि प्रश्न उठाउने विरुद्ध प्रतिशोधको अंश बढी थियो । आफूलाई अर्र्थशास्त्रीय ज्ञान नभएको भन्नेलाई कटाक्ष गर्दै उहाँले आर्थिक वृद्धिदर गरेरै देखाइदिने प्रतिवद्धता जनाउनुभयो ।

अर्थशास्त्रलाई जित्ने शर्माको तर्कशास्त्र यतिमै सकिँदैन । उहाँले मासिक १० प्रतिशत खर्चको रटान सुनाउँदै आए पनि त्यो पानीमा लेखिएको संस्मरण जस्तो भएको छ । अर्थमन्त्री शर्माकै योजना कार्यान्वयन हुन्थ्यो भने यतिबेला मासिक ३६ अर्ब ६६ करोड खर्च हुनुपर्ने हो ।

तर, वितेको झण्डै पाँच महिनामा खर्च भएको २६ अर्ब ९५ करोडको अंकले मन्त्रीको योजनालाई नै उपहास गरेको छ । यो अत्यन्त न्यून खर्च हो । अन्य मन्त्रालयका सचिव वा मन्त्रीले पुँजीगत खर्च वृद्धिको प्रतिबद्धता नै नगर्ने तर अर्थमन्त्रीले मात्रै पटक–पटक पुँजीगत खर्च वृद्धि गर्छु भन्नु फगत रहर हुने जानकारहरू बताउँछन् ।

राजश्व २ सय प्रतिशत पुर्‍याउने, मोबाइल, गाडी नेपालमै उत्पादन गर्ने जस्ता मन्त्रीका विचारलाई अर्थशास्त्रीहरूले नै भावात्मक आत्मरति भनेका छन् । शर्माको अभिव्यक्ति पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई नै पचेन ।

अहिले अर्थतन्त्रको जिम्मेवारी बोक्ने महत्वपूर्ण निकायहरू राष्ट्रिय योजना आयोग उपाध्यक्ष विश्व पौडेल र र नेपाल राष्ट्र बैंकका गभर्नरले नेपालको अर्थतन्त्रको लामो अध्ययन गरेका छन् । अर्थमन्त्रालयमा दुई सचिव छन् ।

तर, उनीहरू मौन छन् भने अर्थमन्त्री मात्रै बोलिरहेका छन् । यसरी हेर्दा पनि अर्थमन्त्री शर्माले आफैँ मात्रै बोलेर अरुलाई बोल्ने मौकै नदिएको जानकारहरू बताउँछन् ।

मुलुकको अर्थतन्त्र हाँक्ने व्यक्ति पहिलो त प्राविधिक हुनुपर्छ, त्यो नभए सिक्ने क्षमता र जिज्ञासा हुनु आवश्यक छ । यी दुवै नहुनु भनेको पदको चरम दुरुपयोग हो ।

त्यसैले घाइते अर्थतन्त्र बौर्‍याउनु सट्टा झन मर्माहत बन्ने बाटोबाट जोगाउनु अहिलेको परम दायित्व हो ।