
काठमाडौं । विश्व बैंकले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप २८ करोड अमेरिकी डलर सहायता दिने विषयमा सहमति जुटेको जनाएको छ ।
अन्तर्राष्ट्रिय दाताहरू संयुक्त राष्ट्र संघमार्फत खाद्य र स्वास्थ्य सेवाका लागि सहयोग गर्न तयार भएको विश्व बैंकले जनाएको छ । गत अगस्टमा तालिवान सत्तामा आएपछि अफÞगÞानिस्तानले पाउँदै आएको वित्तीय सहायतामा रोक लगाइएको थियो ।
त्यसपछि अफगानिस्तान मानवीय र आर्थिक संकटसँग जुध्दै आएको छ । विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको आधा जनसंख्यामा भोकमरीको खतरा मडारिरहेको चेतावनी दिएको छ । त्यहाँ झण्डै तीस लाख बालबालिका कुपोषणको चपेटामा परेको बताइएको छ ।
खडेरीले गर्दा गहुँखेती बर्बाद भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । यसैबीच भारतले अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । काबुलमा रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूलाई सो सामग्री हस्तान्तरण गरिनेछ ।
अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै चिकित्सा आपूर्तिको खेप पठाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्