७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


माओवादी चुनौती र अवसरको दोसाँधमा छ : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी चुनौती र अवसरको दोसाँधमा रहेको बताउनुभएको छ ।

शनिबारदेखि सुरु प्रदेश सम्मेलनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा कमी कमजोरी रहेको भन्दै त्यसलाई सच्चाएर क्रान्तिकारी पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको बताउनुभयो ।

माओवादीले अहिलेका चुनौतीको सामाना गर्ने आधार बोकेको भन्दै क्रान्तिको नयाँ मोडलको खोजी गर्नुपर्ने उहाँको भनाइ छ । एमालेको भर्खरै सम्पन्न महाधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै दाहालले एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसको महाधिवेशन पनि हेरिरहेको भन्दै राष्ट्र कस्तो बनाउने भन्नेतिर कांग्रेसमा पनि बहस नभएको जिकिर गर्नुभयो । पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँलाई रुपान्तरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

पार्टीभित्रको गुटबन्दी, अराजकता, पदलोलुपका समस्या व्यक्तिगत नभइ वैचारिक स्पष्टताको अभाव भएको उहाँको ठहर छ । दाहालले विचारमा स्पष्टता नहुँदा गन्तव्य प्रष्ट नहुने भन्दै सोही कुरालाई चिर्न आगामी पुसमा हुने सम्मेलनमा नयाँ दस्तावेज ल्याउने बताउनुभयो ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन गर्न लागेको हो ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।