१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसभित्र अप्राकृतिक गठबन्धन, गणेशमान र किशुनजीको पथमा रामचन्द्र पौडेल


286
Shares

काठमाडौं । देशको जेठो पार्टी कांग्रेसभित्र सादगी र आदर्शको राजनीतिलाई पद, पैसा र प्रतिष्ठाले धरापमा पार्दै गएको देखिएको छ ।

१४ औं महाधिवेशनमा नेतृत्व छनोटको घम्साघम्सी चलिरहँदा पुराना र निष्ठावान नेता रामचन्द्र पौडेलको चित्त दुखाइसहितको निष्क्रियताले त्यो सत्यलाई बल दिएको छ । कुनै समय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आँसु पिउँदै पार्टीबाट अलग्गिएका थिए ।

अझ चुनावमा देखिएको अप्राकृतिक गठबन्धन त सुन्दा पनि चकित हुने खालको छ । प्रधानमन्त्रीको चुनावमा १७ पटकको अविराम असफलता र पार्टीमा पनि दोस्रो नेतृत्वबाट माथि उठ्ने अवसरबाट सधैं वञ्चित रामचन्द्र पौडेलको राजनीतिक उचाइलाई १४औं महाधिवेशनले यहीँ पूर्णविराम लगाएको छ ।

पार्टी सभापतिको प्रत्याशीबाट पछि हट्नु एउटा परिघटना मानिएला तर त्यो भन्दा महत्वपूर्ण उहाँले निकालेको विज्ञप्तिभित्रका प्रलापले अघिल्लो पुस्ताका सिंह, भट्टराईपछि पौडेल त्यही यात्रामा अघि बढेको भान हुन्छ ।

पौडेलले पार्टीका संस्थापक नेताहरू वीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लडेको स्मरण गर्दै त्यो निरर्थक हुन लागेको पीडा बोध भएको उल्लेख गर्नुभएको छ । आफूले बुझेको कांग्रेसमा विचलन आएको उहाँको बुझाइ छ ।

उम्मेदवारीमा देखिएको अप्राकृतिक र अनपेक्षित गठबन्धनमा समेत पौडेलको छटपटी भेटिन्छ । कहिल्यै संवादमा नदेखिएका प्रकाशमानसिंह र सुजाता कोइरालालाई पदीय भोकले एउटै लाइनमा डो¥याएको छ । जबकी गणेशमानसिंहले गिरिजाप्रसाद कोइरालासँगको चित्त दुखाइबाट पार्टी परित्याग गर्नुभएको थियो ।

जीवनभर शेरबहादुर देउवाको जबर्जस्त समर्थक रहेका विमलेन्द्र निधि देउवासँगको पानी बाराबारको अवस्थामा हुनुहुन्छ । पदीय दाउपेचकै कारण देउवा प्रदीप पौडेल भित्र्याउन र विश्वप्रकाश शर्मालाई हुत्याउन पछि पर्नुभएको छैन । चाक्सीबारी नदेखेका विश्वप्रकाश अन्ततः त्यहीँ दैलो ढक्ढक्याउन पुगेका छन् ।

यसअघि सिटौला गुटका गगन थापाको नाम शेखर कोइराला समूहमा परेको छ । मतदानको घडीसम्म कसको यात्रा कता तय हुन्छ भन्न सकिन्न । तर, निष्ठा, त्याग र साद्गी व्यक्तिबाट समकालीन राजनीति टाढिँदै गएकोमा भने दुईमत छैन ।