
खिलनाथ ताजपुरिया
काठमाडौं । प्रमुख राजनीतिक दलहरूमा नेतृत्व चयनका लागि भएको महाधिवेशनको महाकुम्भमा सहभागी सबै दलका शीर्ष नेताहरूमा एकताको सन्देश दिने होडबाजी देखिन्छ ।
तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो ।
आफ्नै पूर्व सहयात्री पुष्पकमल दाहाल र माधव नेपाल अनुपस्थित रहेको एमाले महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा शुभेच्छा प्रकट गर्न चितवन पुग्नुभयो ।
मंसिर १० को एमाले उद्घाटन सत्रमा अध्यक्ष ओलीअघि सम्बोधन गर्नुभएका प्रधानमन्त्री देउवाले लोकतन्त्रका रक्षाका लागि दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
देउवा बोलेर हिँडेलगत्तै पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले मनमा रहेको देउवाप्रतिको उकुसमुकुस पाेख्नुभयाे । उहाँले आगामी निर्वाचनपछि एमालेकाे सरकार आउने र बाँकी रहेका विकास निर्माणका कामलाई अघि बढाउने बताउनुभयाे ।
ओलीको तीतो अभिव्यक्ति सुनेका प्रधानमन्त्री देउवाले पैंचो फेर्ने अवसर १४ औं महाधिवेशनसम्म कुर्नुपर्यो । कस्तो संयोग भने ओली बाहिरिएपछि मात्र उहाँ विरुद्धको तुष पोख्न देउवा त्यसरी नै कस्सिनुभयो ।
देउवाले आफू प्रधानमन्त्री भएपछि ओलीकाे शासनबाट जनताले मुक्ति पाएकाे बताउनुभयाे । महाधिवेशनले आफूलाई सभापति बनाए स्थानीय तहदेखि केन्द्रसम्मकाे सरकार कांग्रेसकाे हुने उहाँले दाबी गर्नुभयाे ।
फरक–फरक सार्वजनिक मञ्चबाट एक अर्का विरुद्ध खनिने यो नौलो चलन होइन । नेताहरू दन्तबजानमा उत्रिँदा कार्यकर्तामा बढ्ने वैमनष्यले समाजको तल्लो तहसम्म असर गर्छ भन्ने सत्यलाई नेताहरूले आत्मसात गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्