
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।
कुल १ सय ३४ पदका लागि निर्वाचन हुन लागेकोमा ५ सय ४८ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशनले १ सय २१ केन्द्रीय सदस्य र १४ पदाधिकारीमध्ये १३ जना पदाधिकारी निर्वाचित गर्नेछ ।
निर्वाचन समितिका अनुसार सभापतिमा ६ जना, उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
महाधिवेशनले सभापतिसहित उपसभापतिमा दुई जना, महामन्त्रीमा दुई जना र सहमहामन्त्रीमा ८ जना निर्वाचित गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सभापतिको सिफारिसमा कार्यसमितिले अनुमोदन गर्नेछ ।
शनिबार विहान १० बजेदेखि खुला गरिएको मनोनयन दर्तामा पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी परेको छ भने केन्द्रीय सदस्यका लागि ५ सय ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
३५ जना खुल्ला केन्द्रीय सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यमा अधिकांश पुराना र स्थापित नेताले उम्मेद्वारी दिएका छन् ।
९ जना महिला सदस्यका लागि ३१ जना, २१ जना प्रदेश केन्द्रीय सदस्यका लागि ६४ जना, ५४ जना केन्द्रीय समावेशी सदस्यतर्फ २ सय ८३ जनाको उम्मेदवारी परेको छ ।
जसअन्तर्गत थारुतर्फको केन्द्रीय सदस्यका लागि १४ जना, मधेसीका लागि ३२ जना, आदिवासी जनजातिका लागि ८७ जना, खसआर्यका लागि ९३, दलितका लागि ३९ जनाको उम्मेद्वारी परेको छ । निर्वाचन समितिले उम्मेद्वारको प्रारम्भिक नाम केहीबेरमा सार्वजनिक गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्