१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, ४ जना प्यानलसहित (कसको प्यानलमा को ?)


13
Shares

अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

नेतृत्व चयनका लागि शनिबार विहान १० बजेदेखि ५ बजेसम्म तय गरिएको उम्मेदवारी मनोनयन दर्ताको समयभित्र पार्टी सभापतिमा ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टी सभापतिको लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.शेखर कोइराला, कल्याण गुरुङ र नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्यानलको उपसभापतिको लागि विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का तथा महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल मैदानमा हुनुहुन्छ ।

पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।

केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिको लागि चन्द्र भण्डारी, धनराज गुरुङ तथा महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको छ ।

विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले भने प्यानलसहित उम्मेदवारी दिनुभएन ।

देउवा समूहले सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, कोइराला प्यानलबाट सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, तेजुलाल चौधरी, वकिल मियाँ र बद्री पाण्डेलाई उम्मेदवार बन्नुभएको छ ।

१३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले भने कुनै पदमा उम्मेदवारी दिनुभएको छैन ।

देउवा समूहबाट पदाधिकारीका आकांक्षी बालकृष्ण खाँण, एनपी साउँद, रमेश लेखक, ज्ञानेन्दबहादुर कार्की, सुनील थापा लगायतका नेताहरू भने केन्द्रीय सदस्यको उम्मेदवारीमा चित्त बुझाउनुपरेको छ ।

यस्तै, सस्थापनइतर पक्षबाट पदाधिकारीका आकांक्षी महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरूले पनि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएको छ ।

कांग्रेस महाधिवेशनमा आइतमा निर्वाचनअघिकाे प्रक्रिया सकेर साेमबार विहानैबाट मतदानको थालिने केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।