
पोखरा । दोस्रो टाइगर कप भलिबल प्रतियोगिता आगामी पुसमा आयोजना हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने खुल्ला क्लब च्याम्पियनसिप पुरुष–महिला भलिबल प्रतियोगिता पुस २६ देखि माघ १ गते सञ्चालन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुृरुषतर्फ विभागीय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्पनेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
त्यस्तै महिलातर्फ पनि विभागीय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ ।
पुरुष–महिला उपाधि विजेता टिमले समान ३–३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
यसपटक विदेशी खेलाडीलाई भित्र्याउन पाउने प्रावधान समेत खुला गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्