१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


को हुन विमलेन्द्र निधि ?


585
Shares


काठमाडौ । हाल कांग्रेस उपसभापति रहनु भएका विमलेन्द्र निधिले काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

सभापतिमा ६ जनाको उम्मेदवारी परेकोमा गोरखाका युवराज न्यौपानेले नाम फिर्ता लिएपछि ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा विमलेन्द्र, वर्तमान सभापति शेरबहादुर देउवा,डा.शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । कुनै बेला देउवाका विश्वासपात्र रहनु भएका निधि अहिले देउवासँगै सभापतिका लागि प्रतिस्पर्धा गर्दे हुनुहुन्छ ।

को हुन निधि ?

विमलेन्द्र राजनीतिक परिवारमा जन्मिएपनि आफ्नै बलबुता र संघर्षले नेपाली कांग्रेसमा स्थापित नेताका रुपमा चिनिनुहुन्छ । विसं २०१३ सालमा धनुषामा जन्मिनु भएका विमलेन्द्र कांग्रेस संस्थापक नेता महेन्द्र नारायण निधिका छोरा हुनुहुन्छ । गान्धीवादी नेता महेन्द्र नारायण नेपाली कांग्रेसको महामन्त्रीसम्म बन्नु भएको थियो । विमलेन्द्र २०३६ सालमा नेपाल विद्यथार्थी संघ (नेबि संघ) को दोस्रो निर्वाचित अध्यक्ष बन्नु भएको थियो । नेबिसंघको संस्थापक सभापति विपिन कोइराला भएपनि शेरबहादुर देउवा पहिलो र विमलेन्द्र दोस्रो निर्वाचित अध्यक्ष हुन् ।

विमलेन्द्रको राजनीतिक यात्रा २०२७ सालमा नेबिसंघबाटै शुरु भएको थियो । २०४६ मा नेपालमा प्रजातन्त्र पुनःप्राप्तिपछि विमलेन्द्र नेपाली कांग्रेसको पार्टी राजनीतिमा होमिनुभएको हो । त्यसपछि उहाँ २०५१ र २०५६ मा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने धनुषा ३ बाट निर्वाचित हुनुभएको थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने विमलेन्द्र पराजित हुनुभयो । विद्यार्थी र पार्टीको राजनीतिमा लाग्दा विमलेन्द्रले पटक–पटक जेल समेत पर्नुपरेको छ ।निधि २०५२ सालमा देउवा नेतृत्वको सरकारमा पहिलो पटक सामान्य प्रशासन मन्त्री बन्नु भएको थियो । त्यसपछि उहाँ पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसक्नु भएको छ । २०५९ मा देउवाले कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गर्दा निधिले देउवालाई साथ दिनुभएको थियो ।

त्यसअघि २०५७ मा कांग्रेसको पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिन रामचन्द्र पौडेलले नमानेपछि भट्टराई पक्षले देउवालाई सभापतिमा उठाउने निर्णय गर्यो। त्यसमा देउवा र विमलेन्द्र एउटै समूहमा हुनुहुन्थ्यो देउवालाई अप्ठ्यारो पर्दा विमलेन्द्रले सधै साथ दिदै आउनु भएको कांग्रेस नेताहरु बताउँछन् ।

२०७२ फागुनमा भएको कांग्रेसको १३औं महाधिवेशनमा निधिले दरिलो साथ दिएकै कारण देउवा सभापतिमा निर्वाचित हुनुभएको देउवा पक्षकै नेताहरुको भनाई छ । त्य बखत देउवाले १४ औं महाधिवेशनमा विमलेन्द्रलाई सघाउने प्रतिवद्वता जनाउनु भएको तर त्यस विपरित देउवा आफै फेरि सभापतिमा दोहोरिन खोजेपछि विमलेन्द्रले देउवाबाट धोखा भएको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ ।