
दुर्गा आचार्य
नोना कोईरालाको निधन लगत्तै तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले भावविह्ल हुदैं भन्नुभयो “कोईराला निवासको बती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने ?” नोना कोईराला नेपाली राजनीतिभित्रको त्यो नाम हो जसले मात्र त्याग र निष्ठाको प्रतिनिधित्व गर्छ । राजनीति केवल प्राप्तिका लागि मात्र गरिन्छ भन्ने समकालिन नेपाली नेताहरुले नोना कोईरालाबाट धेरै कुरा सिक्नु जरुरी देखिन्छ । नोनाको तिनवटा प्रमुख क्षेत्र छन् । राजनीतिक, सामाजिक, सभ्य र अनुशासित परिवारको संचालक ।
नोनाको राजनीतिक जीवनको सुरुवात २००३ सालको मजदुर आन्दोलन देखि भएको हो । त्यतिबेला उहाँले मजदुर आन्दोलनका घाईतेहरुलाई औषधी उपचार र भोजन व्यवस्थापनको जिम्मा लिनुभएको थियो । निरकुशं राणा शासन विरुद्ध २००७ सालमा काग्रेंसले संचालन गरेको शसस्त्र मुक्ति आन्दोलनमा नोनाले हतियार व्यवस्थापन, सरसफाई र वितरणको जिम्मेवारी लिनुभयो । कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेना समक्ष पु¥याउँने गर्नुहुन्थ्यो ।
२००७ सालको क्रान्तिमा मुक्ति योद्धाका कमाण्डरका रुपमा आफ्ना छोराहरु वीपी कोईराला, मातृका कोईराला, केशव कोईराला, तारिणी कोईराला र गिरीजाप्रसाद कोईराला जान लाग्दा बुहारीहरुलाई बोलाएर आमा दिव्या कोईरालाले “मेरा छोराहरु लडाईमा जादैछन् उनीहरु मर्न पनि सक्छन्, यदि उनीहरु मरि नै हालेपनि तिमीहरुले आँसु नझारेस ” भन्नुभयो (नेपाली राजनीतिमा नोना कोईराला–इन्दिरा प्रसाई) । सासुको यही वचनले नोना कोईरालालाई थप कठोर एंव साहसिक बनाएको थियो । त्यसैले हरेक निरंकुशता विरुद्धको आन्दोलनमा सधै अग्रमोर्चामा देखिनु भयो ।
प्रजातन्त्र प्राप्तिपछि नोना समेतको अगुवाईमा विराटनगरमा “नारी जागृति” संस्था स्थापना भयो । यही संस्थाबाट नारीहरुलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउँने अभियानमा लाग्नुभयो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । २०१५ सालको प्रथम आम चुनावमा वीपीले कहाँबाट टिकट लिने भनेर सोध्दा नोनाले सांसद वा मन्त्री बन्न राजनीति गरेको छैन म पार्टी मै काम गर्छु भनेर टिकट लिन अस्विकार गर्नुभयो । २०१७ को शाही ‘कु’पछि नोना पुनः प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिनुभयो ।
पाटनको शान्त भवन अस्पतालमा अपरेशन पछि बेहोस अवस्थामै रहेका आफ्ना १० वर्षीया छोरा शेखर (डा.शेखर कोईराला) लाई डाक्टरको जिम्मा लगाएर शाही ‘कु’ का विरुद्ध सडकमा उत्रनुभयो । भूमिगत रहनुभएकी नोनाले २०१७ फागुन १२ गते धादिङ्गबाट आएका तामागं समुदायका महिलाको विरोध जुलुसको नेतृत्व गर्नुभयो र सुरक्षाकर्मीले घेरा हालेर उहाँलाई त्यहाँबाटै पक्राउ गर्यो । त्यसपछि उहाँलाई शैलजा आचार्यहरूलाई थूनिइएको थानामा लगियो । पछी उहाँलाई १ वर्ष कैद र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनायो ।
जेल बसाई लगतै उहाँ विराटनगर जाँने क्रममा २०१९ सालमा उहाँलाई बम ओसारेको आरोपमा पुनः गिरफ्तार गर्यो । २०२१ मा जेलबाट नोना वीपी कोईरालासँगै निस्केर २०२४ मा प्रवास जानुभयो । प्रवासमा रहँदा पटना, फारविसगंन्ज, बनारस लगायतका स्थानमा रहेका कार्यकर्ताको भरणपोषणको समेत जिम्मेवारी वहन गर्नुभयो । आममाफी पाएसँगै सबै कार्यकर्तालाई नेपाल पठाई सकेर गिरीजा प्रसाद कोईराला, वसन्त भट्टराई, दुर्गा सुवेदी, गोपाल राई लगायतसँग १३ वर्षको प्रवास बसाईपछि उहाँ स्वदेश फर्कनुभयो ।
प्रवासमा रहँदा पनि नोनाले हतियार संकलन गर्ने र व्यवस्थापन गर्ने काम गर्नुभयो । वीपी कोईरालाले एकपटक गिरीजा प्रसादलाई भन्नुभएको थियो “हतियार संग्रह गर्ने त्यस्ता जोखिमपुर्ण ठाउँमा तँ आफै जादैनस्, खाली नोनालाई मात्र पठाउँछस” ।
जनमत संग्रहको समयमा गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा निस्किएको देशव्यापी पैदल यात्रा टोलीमा नोना मात्र महिला सदस्य हुनुहुन्थ्यो । यसै क्रममा नोनाले ६५ भन्दा जिल्ला भ्रमण गर्नुभएको थियो । २०३९ मा पति केशव कोईरालाको निधन भएपछि पनि उहाँले आफ्नो राजनितिक यात्रा रोक्नुभएन । आफूलाई कमजोर महसुश गर्नुभएन ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा नोनाको आफ्ना पति केशवसँग १० वर्ष भेट भएन । नोना जेलमा हुँदा केशव प्रवासमा, केशव जेलमा हुँदा नोना प्रवासमा हुनुहुन्थ्यो । चिठीपत्र द्धारा मात्रै उहाँहरुबीच सम्पर्क हुन्थ्यो । २०४६ सालको आन्दोलनमा नोनालाई पम्प्लेट, पोष्टर, झण्डाको जिम्मेवारी दिएको थियो । यही थाहा पाएर २०४६ फागुन ५ गते नोनालाई विराटनगरस्थित कोईराला निवासबाट पक्राउ गर्यो ।
जनआन्दोलन पश्चात उहाँले कहिल्यै पनि लाभको पदमा जाने तर्फ सोच्नुभएन । जब किसुनजी दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो बेलुका ७ बजे नोनालाई बालुवाटारबाट फोन गरेर “म भोलि राजाकहाँ जादैछु, मन्त्रीमा तपाईको पनि नाम राखेको छु कुन मन्त्रालय लिने ईच्छा छ ?” सोध्नूभयो । “मलाई अपर हाउसबाट लिन खोज्नुभएको होला, बिन्ती छ मलाई मन्त्री नबनाउनुहोला मेरो नाम नदिनुहोस । शरीरमा एकथोपा रगत रहेसम्म पार्टीमा काम गर्छु, म मन्त्री बन्दिन” भनेर नोनाले फोन राख्नुभयो । त्यतिले नोनालाई मन बुझेन कतै मन्त्री बनाइदिने पो होकि भनेर त्यसको ३ दिनपछि काठमाण्डौं आउनुभयो र किसुनजीलाई भेटेरै मन्त्री बन्न अस्विकार गर्नुभयो ।
विराटनगरस्थित कोईराला निवासलाई एउटा संस्कारयुक्त बनाउँने काममा अहोरात्र खटिनुभयो । पिताजी कृष्णप्रसाद कोईरालाले स्थापित गर्नूभएको परम्परा र संस्कारलाई बचाउँदै कोईराला परिवारको बिरासत जोगाईराख्नूभयो । पछिल्ला दिनहरुसम्म दासता, गरीबी, अभावका विरुद्ध लडिरहनुभयो ।
२००३ सालको भवानीपुर देखि २०५७ साल सम्मको पार्टी महाधिवेशन नोनाले भाग लिनुभयो । २०४८ साल देखि २०६२ सालसम्म पार्टीको केन्द्रीय सदस्यका रुपमा रहनुभएकी नोनालाई २०५५ सालमा नेपाली काग्रेंसको महिला विभाग प्रमुखको जिम्मेवारी दियो । नेपाल महिला संघको प्रथम महाधिवेशन नोनाले नै सम्पन्न गराउँनुभयो । महिला संघको दोस्रो महाधिवेशनको जिम्मेवारी पनि उहाँलाइ नै तोकिएको थियो तर त्यो अगावै उहाँको निधन भयो ।
राष्ट्रिय सभामा महिलालाई आरक्षण, पार्टीको महाधिवेशन र महासमितिमा हरेक क्षेत्रबाट १ जना महिला अनिवार्य, हरेक प्राविमा १ महिलाको दरबन्दी लगायतका विषयमा उहाँले सधै आवाज उठाउँदै आउनुभयो र सम्पुर्ण महिलाको प्रेरणाको स्रोत बन्नुभयो । “मनमा शुद्धता र कर्ममा विश्वास भए आफै सफल भइन्छ” भन्ने नोनाको अनुभव थियो । नोनाले नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टी संगठनका निम्ति पुर्याएको योगदानको बदलामा उहाँलाई जुन पद दिएपनि अपुरै रहन्छ ।
२०६२/६३ को जनआन्दोलनमा सधै अग्रमोर्चामा रहेर काम गर्नुभयो । युवाका निम्ति अदम्य साहस बनेर उभिनुभयो । सबैले सम्मान गर्ने नोना आमा भनेर रहनुभयो । पछिल्ला दिनमा कोईराला परिवारको जिम्मेवार र परिपक्व अभिभावक, कोईराला निवासको खम्बा र आफ्ना देवर गिरीजा प्रसाद कोईरालाको सर्वाधिक आड भरोसा र प्रेरणाकी स्रोतको रुपमा रहनुभएकी नोनाको २०६३ माघ १४ गते निधन भएसँगै गिरीजा प्रसादले भन्नुभए जस्तै कोईराला परिवारको दियो सदाका लागि निभ्न पुग्यो । नोना कोईरालाको सिङ्गो जीवन लोकतन्त्रको खुल्ला विश्वविद्यालयको रुपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्