१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस महाधिवेशन : कमजाेर व्यवस्थापनले प्रतिनिधिलाई सास्ती, प्रविधीमैत्री नभएकाे गुनासाे

बदर मतको संख्या उलेख्य हुनसक्ने आशंका

286
Shares

अक्कल कुँवर
काठमाडौं । विहान ८ बजे मतदान सुरु हुने समय निर्धारण भएकाले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदाताहरू सबेरैदेखि मतदानस्थलमा लामवद्ध भए ।

त्यहि अनुसार उम्मेदवारहरूले पनि मत माग्न सुरु गरिसकेका थिए । तर, निर्धारित समयभन्दा मतदान झण्डै तीन घण्टा ढिलो हुँदा ७ बजेदेखि लामवद्ध मतदाता घण्टौ लाइनमा बस्न बाध्य भए । मतदान सुरु भएपछि पनि मत दिन थप तीन घण्टा लाइनमा गुजार्नुपर्‍याे।

निर्वाचन समितिले एकजना मतदातालाई मतदान गर्न झण्डै आधा घण्टा समय लाग्ने जनाएको थियो । तर, मतदाताहरूले मतदान गर्न कम्तिमा ४५ मिनेटदेखि ७५ मिनेटसम्म समय लागेको जानकारी दिए ।

एक मतदाताले २९ मतपत्रमा मतदान गर्नुपर्छ । मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।

मतदान गर्ने गोप्य स्थान व्यवस्थित भए पनि मतपत्र लिनुअघिसम्मको प्रक्रिया अव्यवस्थित रहेको मतदाताको गुनासो छ । मतदाताहरू कांग्रेसले विद्युतीय मतदानको प्रयोग गनुपर्नेमा जोड दिइरहेका छन् । आफूहरूबाट भइरहेको व्यस्थापनबाट स्वयं केन्द्रीय निर्वाचन समितिसमेत सन्तुष्ट छैनन् ।

मतदानका लागि भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभागृहमा एक गरी तीन मतदान केन्द्रको व्यवस्था गरिएको छ । कांग्रेसको पाँच वर्षको लागि नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी छन् । उनीहरुले सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य चयन गर्दैछन् ।

सभापतिका कुनैपनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसके शीर्ष दुई उम्मेद्वारबीच फेरि प्रतिष्पर्धा हुनेछ । मतदाताले सभापति चयन गर्न पुनः मतदान गर्नुपर्नेछ । कांग्रेसको विधान अनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा निर्वाचनबाट र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १ सय ३४ पदका लागि ४ सय ८० जना बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।