
मालती घोरासैनी/गृष्मा राजभण्डारी
काठमाडौं । भृकुटी मण्डपको कालोपत्रे सडक पछिल्लो दुई दिनदेखि कालो होइन, सेताम्मे छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारहरूको तडक–भडक अनि तिनका प्रचार सामग्रीको लीला बखान गाएरै साध्य छैन ।
करौडौ खर्च गरेर जुटाइएका प्रचार–प्रसारका यी सामग्रीले भृकुटी मण्डप परिसर कुरुप बनेको छ । करौडौं खर्च गरी बनाइएका यी सामग्री यत्रतत्र सर्वत्र छरिएका थिए । चुनावी प्रचार सामग्री मात्रै होइन, अहिले काठमाडौंका चोक–चोक र भित्ताहरू कांग्रेस महाधिवेशनका प्रचार सामग्रीले भरिभराऊ देख्न सकिन्छ ।
महाधिवेशनको प्रचार–प्रसार गर्न बनाइएका पोस्टर, ब्यानर र होडिङ बोर्डहरू उपत्यकाका सडकका दायाँ–बायाँ छरपस्ट देखिन्छन् । जसका कारण महाधिवेशनस्थल वा वरपरका सीमित क्षेत्रलाई महाधिवेशनमय बनाउनु तर्क संगत हुनसक्छ ।
प्रचार सामग्रीले शहरी सौन्दर्यमा पुर्याउने असर मात्रै होइन, महाधिवेशन सकिएपछि यसको सरसफाइको जिम्मा कसको भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हो । भड्किलो प्रचारप्रसारसँग खर्चको पाटो पनि जोडिएको छ । महाधिवेशनमा प्रचार प्रसारका लागि लाखाैंको संख्यामा पोस्टर तथा ब्यानरहरू छापिने गरेका छन् ।
महाधिवेशनले अर्थविदले बजारमा आर्थिक चलायमान भएकोमा सन्तुष्टि व्यक्त गर्लान् । कार्यकर्तामा नेतृत्व छानेको रौस होला । तर, प्रचारप्रसारका नाममा सडकमा देखिएको फोहोरले भने काठमाडौंवासीको आँखा बिझाएको छ । यसको व्यवस्थापनमा महाधिवेशन आयोजकको ध्यान जाला–नजाला पत्तो छैन ।
पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?
यो वा त्यो होइन, यो भड्किलो शैली नेपालका लगभग सबै राजनीतिक दलहरूको प्रवृत्ति बनेको छ । आदर्श काम गरेर समाज र देशलाई सन्देश दिनुपर्ने दलहरूले आफ्नो व्यवहारमा सुधार ल्याउने कहिले ?
प्रतिक्रिया दिनुहोस्