
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ ।
निवर्तमान अध्यक्ष थापाले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको उल्लेख गर्नुभएको छ ।
‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन, तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा लेख्नुभएको छ ।
थापाले पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र वहस सुरु गर्न पनि लिङ्देनलाई आग्रह गर्नुभएको छ । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने उहाँको जिकिर छ ।
यति गर्न सके पार्टी एकता कायम रहि पार्टीको भविष्य पनि सुनिश्चित हुने भन्दै थापाले यस कार्यमा आफ्नो पूर्ण सहयोग रहने जनाउनुभएको छ । यस सम्बन्धमा केन्द्रीय कार्यसमितिले गर्ने बहुमतको निर्णय आफ्नो लागि शिरोधार्य हुने उहाँको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्