१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महाधिवेशन : सभापतिको १५ सय गन्दा देउवालाई ७ सय २१ मत (अपडेट)


2.743k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ ।

राष्टिय सभागृहमा जारी मतगणनामा १ हजार ५ सय गनिसक्दा देउवाले ७ सय २१ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ५ सय ६२ र प्रकाशमान सिंहले १ सय १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै विमलेन्द्र निधिले ८१ मत ल्याउँदा कल्याण गुरुङले ४ मत मात्र प्राप्त गर्नुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।