
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ ।
राष्टिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म २ हजार १ सय ६ मत गणना हुँदा देउवाले ९ सय ९१ मत पाउनुभएकाे छ ।
यस्तै, अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय ६२ र प्रकाशमान सिंहले १ सय ७४ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै विमलेन्द्र निधिले १ सय ३७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ९ मत मात्र प्राप्त भएको छ ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्