१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवा, निधि, सिंह र गुरुङको मोर्चाबन्दी, एक्ल्याईयो शेखरलाई


4.654k
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दै हुनुहुन्छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका लागि उम्मेदवार बनेका कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । दोस्रो चरणको निर्वाचन मंगलबार (आज) साढे ३ बजेबाट शूरु हुँदैछ ।

सभापतिमा उम्मेदवारी दिएका देउवा, शेखर, विमलेन्द्र निधि प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।

पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । अब धेरै मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । सोमबार कांग्रेसका ४६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । जसमा ७६ मत बदर भएको थियो ।

एक्ल्याए शेखरलाई
दोस्रो चरणको मतदानमा देउवालाई विमलेन्द्र,प्रकाशमान र कल्याण गुरुङले समर्थन गरेका छन् । शेखरलाई एक्ल्याएर देउवा,विमलेन्द्र,प्रकाशमान र कल्याणबीच मोर्चा बन्दी भएपछि दोस्रो चरणमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ । थोरै मतको अन्तरमा पराजित देउवाले विमलेन्द्र,प्रकाशमान र कल्याणको समर्थन पाएपछि शेखरमाथि दबाब बढेको छ । देउवाले शेखर बाहेकका तीनजनासँग आजै भेटघाट गरेर आफूलाई समर्थन जुटाउनु भएको हो ।

शेखरले पनि विमलेन्द्र,प्रकाशमान र कल्याणसँग आफूलाई सघाउन आग्रह गरेपनि तीनै जनाले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । शेखर निकट एक नेताका अनुसार आफूहरु उच्च मनोबलका साथ दोस्रो चरणमा जान लागेको इमेज खबरलाई बताए ।

“निर्वाचन हो यसै भन्न सकिदैन तसर्थ उहाँहरु एकढिक्का भएपनि कार्यकर्ताले मूल्यांकन गर्ने हो ।”ती नेताले ईमेजखबरसँग भने ।