
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ । आयोगले माघ १२ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि १० पुससम्म राजनीतिक दललाई आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।
२०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य रहनु भएका छन् ।
निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।
सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्