२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


एमसीसी मूख्यालयबाट सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता


507
Shares

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको छ । गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो ।

बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ ।

एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । एमसिसीलाई लिएर नेपालमा लगातार विरोध हुँदै आएको छ । गएको मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच अझैसम्म एमसिसीलाई लिएर सहमति जुटेको भने छैन ।

यही परिवेशमा एमसिसी सञ्चालक समितिको त्रैमासिक समीक्षा बैठकमा नेपालमा एमसिसी सम्झौतालाई लिएर भइरहेको प्रगतिबारे छलफल भएको हो । नेपाल सरकारले एमसिसी कम्प्याक्ट चाँडो अनुमोदन गर्ने भनी जनाएको प्रतिबद्धतालाई ‘नोट’ गर्दै सञ्चालक समितिले जति सक्दो छिटो पारित गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसिसीलाई लिएर पछिल्ला केही महिनामा उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमण गरेका छन् । यही क्रममा एक महिना पहिले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका थिए । उनले एमसिसी पारित गर्ने/नगर्ने निर्णय नेपालको हातमा रहेको उल्लेख गरेका थिए ।