
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले पार्टीको चुनाव हारे पनि विजयी भएको महसुश गरेको बताउनु भएको छ ।
कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू कांग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताउनु भयो ।
उहाँ लेख्नुहुन्छ, ‘मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।’
उहाँले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट आफू सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । ‘गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित छु । पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु । नेपाली काँग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका काँग्रेसलाई एकतावद्ध बनाउन पनि हुनेछ ।’
नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्