
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संझौता संसदमा लाने तयारी गर्नुभएको छ ।
एमसीसीका विषयमा सत्तामा रहेका दलहरु नै एकमत नभएका बेला देउवाले त्यसलाई निर्णय गराउन संसदमा लैजान खोज्नुभएको हो । देउवा निकट एक नेताका अनुसार यो अमेरिकाले नेपालसँग अनुदान सम्बन्धी गरेको संझौता भएको र त्यसले नेपालको विकासमा सहयोग पुग्ने भएकाले तत्काल संसदबाट अनुमोदन गराउन खोज्नु भएको हो ।सत्ता गठबन्धमा रहका दलहरु नेकपा एकीकृत समाजवादी,नेकपा माओवादी केन्द्रले भने एमसीसीलाई तत्काल अघि बढाउन नहुने बताउँदै आएका छन् । एमसीसी नेपालको हितमा नभएको समाजवादी र माओवादीका नेताहरुको बुझाई छ ।
प्रधानमन्त्री निकट ती नेताले भने “एमसीसीबारे बहस भएको धेरै भयो अव प्रधानमन्त्री एमसीसी फेल वा पास के हुन्छ ,त्यसलाई संसदमै लैजाने मुडमा हुनुहुन्छ ?” “संसदमा एमसीसी पेश गर्ने बित्तिकै कसले पास गर्न मत दिन्छ कसले दिदैन ती थाहा हुन्छ र गठबन्धन सरकारको आयु पनि त्यसैले निर्धारण गर्छ।” उनको भनाई छ । उता अमेरिकाले एमसीसी स्वीकार गर्ने या नगर्ने भन्ने विषय नेपालको भएको बताउँदै आएको छ । सन् २०१७ मा नेपाल र एमसीसीबीच सम्झौतामा हस्ताक्षर भएको थियो । एमसीसी र नेपालबीच करिब ५५ अर्ब रुपैयाँ अनुदानसम्बन्धी सम्झौता भएको हो । यो संझौता संसले अनुमोदन गरेमा मात्रै नेपाललाई यो सहयोग प्राप्त हुनेछ । सो संझौता २०७६ असारमा संसद सचिवालयमा दर्ता भएपनि अनुमोदन गर्न भने संसदमा पेश गरिएको छैन ।
देउवाको कदमप्रति भने सत्ता गठबन्धनमा रहेका अरु दलले आशंका व्यक्त गरेका छन् । तर देउवाले गठबन्धनमा सामेल साजनीतिक दलका नेताहरुसँग छलफल गरेरै एमसीसी अघि बढाउने तयारी गर्नुभएको छ । देउवा निकट अर्का एक नेताका अनुसार एमसीसी पास गर्न एमालेले पनि सहयोग गर्नेछ । यसले गठबन्धन टुट्न पनि सक्छ । गठबन्धनमा रहेका नेताहरु पनि जोखिम मोलेर देउवालाई रोक्ने पक्षमा भने छैनन् । गठबन्धन आगामी निर्वाचन सम्म जाओस भन्ने चाहना गठबन्धनमा रहेका सबैको छ । ती नेताले भने ।
प्रतिक्रिया दिनुहोस्