
पेशल आचार्य
काठमाडौ । नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापाले गत मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनलाई सारमा मूल्याङ्कन गर्दै ‘एमालेको ओलीवेशन र हाम्रो अधिवेशवन भनेका थिए’ ।
नेपाली कांग्रेसको महाधिवेशनको चुनावी तिकड्म, गुटबन्दी र गुट फेराफेर हेर्दा आम नागरिकलाई चाहिँ ‘अधिवेशन’ कम ‘ओलीवेशन’ नै बढी लागेको छ । यद्यपि गगन थापाले डा.शेखर कोइरालाका गुटबाट उठेर सबैभन्दा धेरै मत महामन्त्रीमा पाएका छन् । महामन्त्रीमा जितेका अर्का नेता विश्वप्रकाश शर्माले चुनावका माझमा ‘नेता प्रकाशमान सिंहको कित्तामा आफू रहेको’ बताएपछि फेसबुकमा उनको चाहिँ धेरै टिकाटिप्पणी भएको थियो । भलै प्रतिनिधिले विवेक बन्धक नराखिकन विश्वलाई भोट दिएर जिताए ।
महामन्त्रीको मतदानमा कांग्रेस प्रतिनिधिहरू बँधुवा देखिएनन् । गुटको चित्र हेर्दा देखिन्थे जस्तो लागेको थियो । डा. मीनेन्द्र रिजालले पाँचौ मत प्राप्त गरे । उनको ८०९ मतलाई हेर्दा उनी आफैँ आत्तिएर नैतिकता देखाएको भन्दै रक्षा मन्त्रीबाट राजीनामै दिइसकेका छन् ।
गगन थापाले पहिलो मत ३०२३, विश्वप्रकाश शर्माले दोस्रो मत १९८४, डा. प्रकाशशरण महतले तेस्रो मत १५५६, प्रदीप पौडेलले चौथो मत १३९३,डा. रिजालले पाँचौ र डा. राजाराम कार्की छैठौं मत १०७ ल्याएका छन् । डा.राजाराम कार्कीको नाम यो महाधिवेशन अघि प्रतिनिधिले कमै मात्रामा सुनेका थिए होलान् । नामै नसुनेका मानिसहरू पनि महाधिवेशनमा किन उठ्ने टन्टा व्यहोर्छन् होला ? एमाले नेता तथा चीनका पूर्व राजदूत टंक कार्कीले भनेका सारगर्भित कुराहरू यस्ता छन् –‘कांग्रेसमा महाधिवेशन कस्ले जित्यो कस्ले हा¥यो कांग्रेसभित्र त विशेष अर्थ राख्छ नै प्रकारान्तरमा मुलुककै निम्ति पनि अर्थ राख्दछ । तिनको महाधिवेशनको विशेष महत्ताचाहिँ तिनले अभ्यास गरेको प्रतिस्पर्धाको ढाँचा हो । प्रतिस्पर्धाले बार्बाद पार्छ, जोरीपारी हाँस्छन् भन्ने तर्क सुक्रीविक्री पनि त्यहाँ भएन । प्रतिस्पर्धालाई उत्ताउलो हुनबाट पनि तिनले जोगाए । संस्थापन पक्षले प्रतिपक्षलाई उत्ताउलो हुनबाट पनि तिनले जोगाए ।
संस्थापन पक्षले प्रतिपक्षलाई पनि आफूजस्तै सामूहिक प्रतिस्पर्धाको मौका मात्रै दिएन, प्रतिपक्षलाई ‘निशस्त्र’ पारेर मतदानको निम्ति नेगेटिभ लिष्ट पनि बाढेन । अन्नतः छनोट एकाङ्गी भएन पनि । यसका पछाडि प्रतिनिधिहरूको गुणवत्ता नै हो । नेकपा एमालेको नवौं महाधिवेशनमा पनि दुई भिन्न समूहको प्रतिस्पर्धाका बावजूद पनि सन्तुलित संरचना बनेको थियो । कांग्रेस र राप्रापाको यसपटकको महाधिवेशनको साझा सन्देशचाहिँ नेपाली समाज राजनीतिको नेतृत्व विशेष गरी पुस्तान्तरणको व्यग्र प्रतीक्षामा छ भन्ने नै हो । राजनीतिमा खटकेको के मात्रै हो भने मुद्दा र सामाजिक मिसनले अझै प्राथमिकता पाउन सकेको छैन तर दबाव भने बढ्दै गएको छ । ढिलो चाँडो परिपक्वता आउँछ नै ।’ यसो भनेर उनले एमालेमा कांग्रेसमा जत्तिको पनि प्रतिनिधिहरूले विवेक पु¥याएका देखेनन् । बरू यो मामलामा राप्रपा एक कदम अघि बढेको देखियो ।
युवा विश्लेषक सञ्जीव कार्की आफ्नो खरो विचार यसरी लेख्छन् –‘विवेक भन्ने जिनिस कांग्रेससँग अझै सकिएको रहेनछ ।
विश्वप्रकाश शर्मा यो पटक ढुङ्गाको काप फोरेर उम्रेका पीपल हुन् ।’ नत्र सिटौला क्याम्पबाट फ्याँकिएका शर्माले हरूवा तथा अडान नभएका स्वार्थी नेता प्रकाशमान सिँहको क्याम्पमा पुगेर ‘हारे पनि जिते पनि प्रकाशमान सिँहका साथ उभिनु मेरो कर्तव्य हो’ भन्ने थिएनन् । धन्न प्रतिनिधिहरूमा विवेक मरेको रहेनछ उनीहरूले सो विवेकलाई घाँस खान दिएनछन् ।
पूर्व राजदूत कार्की अझअघि भन्छन् –‘डाक्टर शेखर कोइराला परिवारका भाइ डा. शशांक कोइराला र बहिनी सुजता कोइराला तथा कोइराला इतरबाट पनि ‘अन्डर इस्टिमेट’ गरिएका राजनैतिक कर्मी हुन् ।’ उनले यसो भनिरहँदा डा.शेखर कोइरालालाई समयले राजनीतिक शिखरनेर भने ल्याइपुर्याएको छ ।
नेता गगन थापाले ओलीवेशन भनेर एमालेको महाधिवेशनलाई हिके पनि उनका नेता रामचन्द्र पौडेलले देउवाद्वारा दिइएको आश्वासनलाई शिरोपर गर्दै भावी चुनावमा कांग्रेसले बहुमत ल्याएका खण्डमा राष्ट्रपतिको उधारो पद ‘पँजनी’ गरेर मुख बुझो लगाएकै हुन् । यो कुरा बच्चा कांग्रेसीलाई पनि थाहा छ । कांग्रेसले यो महाधिवेशनमा ठूलै ट्याक्टिस खेल्यो ।
अझ देउवा दाजुले सत्ताको राप र तापमा एकातिर रामचन्द्रलाई वनवाश पठाएको हौवा पिटाएर मतदान गर्न समेत नदिई मुख बुझो लगाएर पहिलो चरणको सभापतिको चुनावलाई आफू लगायत विपक्षीको समेत अनुहार हेर्ने ऐनाका रूपमा लिएर प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई आफ्नो गुटमा जबर्जस्त समाहित गर्न सफल भए । तर उता डा. शेखरले दोस्रो चरणको चुनावमा पहिलो चरणको भन्दा १५३ मत बढी ल्याउन सफल भए । यसले उनी हारेर पनि जितिरहेका छन् भन्ने संकेत जो गरेको छ ।
नेपाली राजनीतिको जेठो बूढो पार्टी कांग्रेसले महाधिवेशन काठमाडौंमा गर्नु, आफ्नो प्रतिद्वन्द्वी पार्टी एमालेले प्रयोग गरेको इलेक्ट्रोनिक भोटिङ् मेसिनबाट मतदान गर्न सक्ने हुँदाहुँदै कांग्रेसले भने नचाहनु र चुनावका मुखमा देउवाले ‘सभापतिमा मैले हारे भनेँ प्रधानमन्त्रीबाट मलाई हटाइदिन्छन्’ भनेर रून्चे बोलीमा मतदातालाई इमोसनल ब्ल्याकमेलिङ् समेत गर्नुले बाहिरबाट हेर्ने शुभेच्छुकलाई यो अधिवेशनले केही खिन्न बनाएकै हो ।
काठमाडौं पदाधिकारीहरूमा पराजित डाक्टरहरू– डा.शेखर कोइराला, डा.चन्द्र भण्डारी, डा.प्रकाशशरण महत, डा.मीनेन्द्र रिजाल, डा.राजाराम कार्की हुन् भने उता एमालेको ओलीवेशनमा चाहिँ डा.भीम रावल एक्ला वृहस्पतिका रूपमा पराजित थिए । दुवै ठूला पार्टीका महाधिवेशनमा प्रतिनिधिले डाक्टरहरूलाई नछान्नुले के कुराको संकेत गरेको छ ? बजारमा आएको अर्को चर्को टिप्पणीले भन्छ –‘लोकतन्त्रमा गगन थापाहरू उदाइ नै रहन्छन्, गुटतन्त्रमा डा.भीम रावलहरू पनि खेदिई रहन्छन् ।’
चर्तिच कवि डा. विष्णुविभु घिमिरेले महामन्त्रीमा नेता गगन थापा र विश्वप्रकाश शर्माको विजयलाई प्रतीकात्मक अर्थ लगाएर अब कांग्रेस सुध्रेको भानमा कविता नै लेखेर फेसबुकमा पोष्ट गरे । उनको कविता छोटो/मीठो थियो । जसमा भनियो :
‘‘तिमीहरूको विजयमा
सम्पूर्ण लोकतान्त्रिक मनमा
सुकिसकेको आशा र विश्वास ब्यूँझेको छ
हाँगाहरू लुछेर
पातहरू चुँडेर
जीर्ण थङ्थिलो रूखमा
फेरि पालुवा पल्हाउँछ कि भन्ने
एउटा अठोट जग्मगाएको छ
धेरै वर्षपछि
अविश्वासले खङ्ग्रङ्ग प्रजातन्त्रको छातीमा
वसन्तको तरङ्ग
तरङ्गित होला कि भन्ने
आत्मविश्वास फेरि फर्केर आएको छ ।
हार्दिक बधाइ
विश्व–गगनमा ।’
डा. विष्णुविभु घिमिरेले कविता लेख्दा अर्का साहित्यकार विमल भौकाजीचाहिँ यस्तो लेख्दै थिए –‘कांग्रेस बाँच्ने भो अब, ढुक्क । अन्यथा नालायक ‘कपुत’हरूले रछ्यान नै बनाउन लागिसकेका थिए पार्टीलाई । अग्रीम बधाइ गगनजी ।’रूप/रङ फेर्ने प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई ठूलो झट्का –गगन र विश्वको जीतले । बाबु बराजुको विराशतलाई नै राजनीतिको दर्शन र जनताको माया ठानेर अहिलेसम्म ठूला भएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले आफू पक्क फुलेर बस्दा आफ्नो पक्षमा कति कार्यकर्ताहरू रहेछन् भन्ने कुरा थाहा पाएकै रहेनछन् । चुनाव बेला बेलामा भैरहे नेता र कार्यकर्ताहरू दुवैले आफ्नो हैसियत थाहा पाउने रहेछन् ।
यस मानेमा अहिले कांग्रेसको चौधौं महाधिवेशन काठमाडौं बाहिर आयोजना गरेर एमालेको टक्करमा मास देखाउन खोजिएको भए कोरोना कालमा झन् मान्छे जम्मा गरेर तमासा मात्र गर्न खोज्यो भनेर चौतर्फी आलोचना हुनेथियो । सो हुनबाट कांग्रेस सर्लक्कै बँचेको छ । गुणात्मक मात्रामा थोरै मान्छेहरू भेला पारेर पनि कांग्रेसले युवा पुस्ताका नेताहरू केन्द्रीय कार्य समितिमा भर्न सकोस् अहिलेलाई यही शुभ कामना दिन सकिन्छ । बाँकी पूर्ण कार्यसमिति आइसकेपछि रहलपहल भन्ने कुराहरू अझै धेरै बाँकी छन् ।
प्रतिक्रिया दिनुहोस्