७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कविता- आँसुका दुई थोपाको श्रद्धा तिमीलाई


0
Shares

हरिविनोद अधिकारी

१. तिमी शहीद हौ कि सहिद?

भाषामा पनि किचलो छ तिम्रो परिचयका लागि

तर तिमी यो देशका लागि अमर सन्तान हौ

तिमी कहिल्यै ननासिने आत्मा हौ यो देशका

तिमीले दिन सक्थ्यौ आफ्नो प्यारो ज्यान

दियौ र तिमी अमर भयौ

यो देशलाई स्वतन्त्र बनायौ ।

 

२. तिमीले यो नेपालको भलो होस् भनेर 

आफूलाई बलिदान गर्‍यौ

या भनौँ सहादत दियौ

हामी कृतज्ञ नेपालीहरुले तिमीलाई 

नेपालको महान सन्तान मान्यौं

र पूजा गर्‍यौं सधैंभरि सधैंभरि ।

 

३.  सहिदका सपना पूरा गर्न हिंडेका हामी

आफ्ना स्वार्थी दिवा सपना पूरा गरिरहेका छौं

सिद्धान्तको खोलमा र महाजाली लेपनमा

तिमीलाई पनि हामीले भागबन्डामा पारेका छौं

र त सहिदको संख्यामा पनि जालझेल गरेर 

कमाई खाने भाडो बनाएका छौं

 

४. मुलुक र जनताका खुसी र सुखका लागि

आफ्नो अमूल्य जीवन पनि उत्सर्ग गर्ने महान आत्माहरु 

हामीले दिने श्रद्धा मात्र हो जुनभित्रै हृदयबाट दिइन्छ

कुनै कुत्सितध्येयले होइन र कुनै कुत्सित स्वार्थ पनि छैन

 

५. यदि तिम्रो आत्मा नेपालकै व्योमपथमा विहार गरिरहेको छ भने

अहिले राजनीतिक वृत्तमा गरेका र भएका कामहरु के तिम्रै 

सपना बमोजिम भएका होलान् त ?

अनि अहिलेका कामको सुधारका लागि

फेरि पनि अरु सहिदहरुको आवश्यकता पर्ला त ?

.६. माटो र मानवताको रक्षाका लागि

सहादत दिनेहरु एकपटक

नेपालीहरुलाई आशीर्वाद देऊ

सबैमा चित्त शुद्धहोस्

मानवता र स्वतन्त्रताका पक्षका लाग्न सक्ने क्षमता

अनि

समाजको सकारात्मक विकासको पक्षमा काम गर्ने 

बुद्धि सबैको पलाओस्

मुलुक आफैंले बनाउने हो

समृद्ध आफैं हुने हो, त्यसका लागि

अहङ्कार त्याग्न र मपार्इँत्वबाट टाढा रहन सक्ने 

क्षमता बृद्धिहोस् भन्ने आशीर्वचन प्राप्त होस् ।

 

७. क्षमाप्रार्थी छौँ सहिद तिमीप्रति

तिम्रो यथेष्ट सम्मान गर्न सकेका छैनौं

तिम्रो अपमान गर्नेलाई दण्डित गर्न सकेका छैनौं

मार्ने र मर्ने दुवैलाई एउटै बास्केटमा राखेर

सहिद दिवस मनाइरहेका हुन्छौं

माफ गर सहिद हामीलाई अब तिम्रो अपमा नगर्नेलाई 

निर्भयताका साथ दण्डित गर्न सकौं 

यही क्षमता देऊ, म अरु केही पनि माग्दिन

आँसुका दुईथोपाको श्रद्धाञ्जलिले तिमीलाई नमन ।।

२०७६.१०.१६