१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समयमा मर्मत नगरेका सवारीले दुर्घटना बढायो : मन्त्री यादव


221
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका सवारी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराउनुभएको छ ।

शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले चलाउन नहुने अवस्थामा रहेका सवारी गुडाउँने गरेकाले दुर्घटना बढेको बताउनुभयो । सडकमा गुड्ने सवारीको समयमा मर्मतसम्भार गर्दा दुर्घटनामा धेरै कमी आउने उहाँको भनाइ छ ।

रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्नसमेत मन्त्री यादवले सचेत गराउनुभयो । उहाँले रिकन्डिसन अटो व्यवसायीलाई आफूले कस्तो अवस्थाको गाडी खरिद तथा विक्रि गरिरहेको छु भन्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराउनुभयो ।

उहाँले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठूला शहरहरूमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गर्नुभयो । व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उहाँले व्यवसायीहरूलाई छलफलमा आउन पनि आग्रह गर्नुभयो ।