
अक्कल कुँवर
काठमाडौं । १४ औं महाधिवेशनसँगै कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको छनकले प्रवेश पाएको छ । तल्लो तहदेखि चुनावी प्रक्रिया पार गर्दै आएका परिपक्व मतदाताले अन्तरमनको आवाज सुनेर नयाँपुस्तालाई अग्निपरीक्षामा होमिदिएका छन् ।
नयाँ पुस्ताको प्रवेशसँगै नेपाली कांग्रेसमा पुराना गुट र नेताहरू भत्किएका छन् । मतदाताबाट अस्वीकृत तर समीकरणको राजनीतिमा अब्बल नेताहरूको कांग्रेसमा अब भविष्य के हुन्छ भन्ने बहस थपिएको छ ।
महाधिवेशनपछि नयाँपुस्ताको जोश र पुरानोको होस समायोजनको विषय पेचिलो बनेको छ । महाधिवेशनमा उदाएको युवापुस्ता र उनीहरूलाई जन्माउने, हुर्काउने नर्सरीको काम गरेका गुट निर्माताको व्यवस्थापन रुपान्तरित कांग्रेसको पहिलो अघोषित एजेण्डा हो ।
१३ औं महाधिवेशनपछि कांग्रेसमा मुख्य गरी संस्थापन, संस्थापनइतर र पूर्वमहामन्त्री कृष्ण सिटौला नेतृत्वको गरी तीन समूह रहेका थिए । संस्थापन समूहको नेतृत्व सभापति शेरबहादुर देउवा, इतर समूहको नेतृत्व रामचन्द्र पौडेल र सिटौला समूहको नेतृत्व स्वयम् सिटौलाले गरेका थिए ।
तर, १४ औं महाधिवेशनपछि व्यापक परिवर्तन देखिएको छ । इतर समूहको नेतृत्व गरेका पौडेल यो महाधिवेशनमा न चुनाव लडे न त कुनै उम्मेद्वारलाई खुलेर समर्थन गरे । संस्थापनइतर समूहभित्र प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाका उपसमूह थिए ।
निर्वाचनमा शेखर र प्रकाशमानले प्यानलसहित सभापतिमा उम्मेद्वारी दिए । १३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित डा.शशांकलाई केन्द्रीय सदस्यको उम्मेद्वारका रूपमा चारवटै प्यानलले आफ्नो सूचीमा राखे ।
१४ औं महाधिवेशनमा विमलेन्द्र निधिले फरक समूह निर्माणको प्रयास थालेपनि निर्वाचनमा छुट्टै समूह निर्माण गर्न सकेनन् र दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गरी विलय भए ।
सभापतिमा उम्मेद्वारी दिएर आफ्नो समूहलाई ठोस आकार दिने प्रयास गरेका प्रकाशमान सिंहले गिरिजापुत्री सुजाता कोइरालालाई उपसभापति र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा दिएर आफ्नो प्यानल बनाए । उनको प्यानलका शर्मा मात्र विजयी हुन सफल भए ।
१३ औं महाधिवेशनपछि पार्टीभित्र निर्णायक भूमिकामा रहेको सिटौला समूहले १४ औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गर्यो । सिटौला समूहबाट महामन्त्रीका उम्मेद्वार पराजित भए पनि सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भए । यो नतिजासँगै कांग्रेसमा सिंह र सिटौलाको भूमिका सक्रिय रहने सम्भावना देखिएको छ ।
महाधिवेशनपछि पार्टीभित्रका विभिन्न समूह र समूहभित्र शक्तिशाली तथा निर्णायक रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, सुजाता कोइराला, डा. प्रकाशशरण महत र मिनेन्द्र रिजाललगायतका नेताहरूको भविष्य के हुन्छ भन्ने बहस सुरु भएको छ ।
महाधिवेशनबाट निर्वाचित नेतृत्व र सिंङ्गो नेपाली कांग्रेसले आगामी तीनै तहको निर्वाचनलाई मध्यनजर गरेको छ । पार्टीको उद्धेश्यलाई मूर्त रूप दिन मतदाताले अस्वीकार गरे पनि कुनै न कुनै रूपले शक्तिशाली रहेका यी समूह र नेताको व्यवस्थापन आवश्यक छ ।
पछिल्लो ५–६ वर्षमा बनेका गुट–उपगुट अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुग्दा महाधिवेशनले मूल रूपमा देउवा र कोइराला समूहलाई स्थापित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्