
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नजाने भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सर्बदलीय बैठकमा सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् । आफ्नो पार्टीले मान्यता नदिएको दल उपस्थित हुने बैठकमा सहभागी नहुने उनीहरूको तर्क छ ।
संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने एमालेले जनाएको छ । प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ ।
अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ । आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ ।
नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।.
प्रतिक्रिया दिनुहोस्