
काठमाडौं । अमेरिकी सहयोग परियोजना, एमसीसीबारे सत्तारुढ गठबन्धनमै तीब्र मतभेद देखिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउने प्रयासमा हुनुहुन्छ भने सत्ताका सहयात्री दुई बाम घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसको विपक्षमा छन् ।
प्रधानमन्त्री देउवाले हिजो डाक्नुभएको सत्ता साझेदारहरुको वैठकमा पनि मतभेद राम्रैसँग प्रकट भयो । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाएको भन्दै तुरुन्तै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले यसबारे थप छलफल आवश्यक भएको बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मध्यमार्गी धारणा राख्नुभएको थियो । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपाय खोज्नुपर्ने उहाँको धारणा थियो । त्यसैगरी नेकपा एकीकृत समाजवादीले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने अडान दोहो¥याएको थियो ।
सत्ता सहयात्रीहरुबीच नै चर्को मतभेद देखिएपछि थप छलफल गर्न भन्दै तीन सदस्यीय कार्यदल बनाइएको छ । एकिकृत समाजवादीबाट झलनाथ खनाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवदाी केन्द्रबाट नारायणकाजी श्रेष्ठ रहेको कार्यदल बनाइएको हो । कार्यदल बनाएर अल्मल्याउने पक्षमा सत्ता गठबन्धनका बामदलहरु रहेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्