
काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ ।
दिउँसो १ बजे बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटक–पटक आग्रह गर्नुभएको थियो ।
तर, एमाले सांसदहरूले त्यसलाई नमानेर अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको हो ।
राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताउनुभएको थियो । सर्वदलीय बैठक बोलाउँदा देखावटी काम भएको उहाँको भनाइ छ ।
माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराउनुभएको थियो ।
आजको बैठकमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्