२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ : अध्यक्ष नेपाल


104
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको हो । उहाँले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निश्कर्ष निकाल्ने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताउनुभयो । उहाँले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने, सच्याएर मात्रै अघि बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने जानकारी गराउनुभयो ।

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई अन्याय गरेको बताउनुभयो । उहाँले पार्टीमा रहँदा प्रचण्ड धेरै सोजो बन्नुभएको पनि बताउनु भयो । अध्यक्ष नेपालले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोपसमेत लगाउनु भयो । उहाँले गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताउनुभयो । अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताउनु भयो ।