
काठमाडौं । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् ।
गएराति टिपरको ठक्करबाट स्थानीय नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरू प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।
चौधरीको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनुपर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ ।
प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार–हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ । पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरूले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै विहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए ।
झडपमा क्रममा २ जना प्रहरी घाइते भएको तथा स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ ।
आइतबार राति साढे ८ बजे बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै टिपर चालक फरार भएका थिए । उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्