१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार महिनामा ८७ करोडको ज्यूँदो पशुपंक्षी आयात, निर्यात जम्मा ६ हजार रुपैयाँको


91
Shares

काठमाडौं । भन्सार विभागको पछिल्लो तथ्याङ्कले आयातको डरलाग्दो तस्वीर देखाएको छ ।

पुँजीगत खर्च गर्न नसकेर आलोचित बनिरहेको अर्थ मन्त्रालय आयातमा भने राम्रै प्रगति गरी राजस्व संकलन गर्न सफल भएको छ ।

मुलुक उत्पादन मुखी बनाउँदै निर्यातको सपना देखाउने नेतृत्वले उत्पादन उन्मुख कार्य भने भाषणमा मात्र सीमित गर्दा पछिल्लो चार महिनामा ज्युँदो पशुपक्षी र जनावर मात्र ८७ करोड ५२ लाख ३३ हजार बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्यात भने जम्मा ६ हजारको मात्र छ ।

माछा तथा सामुद्रिक खाना खरिदमा २९ करोड ५७ लाख ४ हजार बढी रकम बाहिरिएको छ भने जम्मा ९८ लाख ५२ हजार बराबरको निर्यात गरेको छ ।

यसैगरी दूध तथा दुग्धजन्य पदार्थ तथा अण्डामा ६६ करोड ४५ लाख हजार बराबरको रकम बाहिरिँदा २ करोड ५० लाखको निर्यात भएको छ ।

रुख तथा पुष्पजन्य पदार्थमा ९७ करोड ३५ लाख रुपैयाँको आयात गर्दा २६ लाख ९३ हजार बराबरको निर्यात भएको छ । १६ अर्ब बढी रकम बराबरको तरकारी आयात गर्दा ३८ करोड रकम बराबरको मात्र निर्यात गरिएको विभागको तथ्यांकले जनाएको छ ।

यसैगरी फलफूल तथा ड्राइफूडमा ९ अर्ब ४३ करोड बराबरको आयात हँुदा १२ लाख ९७ हजारको निर्यात भएको छ ।

चिया कफी र विभिन्न मरमसलाको नाममा भने आयात र निर्यातको अन्तर धेरै छैन । आयात ३ अर्ब ८१ करोडको हुँदा निर्यात ३ अर्ब १२ करोडको निर्यात भएको छ ।

यस्तै, जौ गहुँलगायतका खाद्य वस्तुमा २२ अर्ब ५७ करोडको आयात हुँदा ३ लाख ३३ हजारको निर्यात भएको विभागले जनाएको छ ।