२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओली अझै प्रतिगमनकै बाटोमा हुनुहुन्छ : अध्यक्ष दाहाल

‘संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु हो’

273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताउनुभयो ।

अध्यक्ष दाहालले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावी समेत गर्नुभयो । अध्यक्ष दाहालले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरू पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘उहाँले अहिले पनि संसद अवरोध गर्नुको कारण भनेको के हो भने, उहाँले तर्र्क राख्नुभएको हामीले सुनेका छौँ । गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटि सरकार बन्न दिने । यदी नेपाली काँग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ ।’

अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताउनुभयो ।