
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई विदाइ गरेको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै विदाइ गरेका हुन् ।
पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यु–१९ एसिया कप क्रिकेटमा आयोजक युएइसँगै नेपाल, बंगलादेश, श्रीलंका, कुवेत, भारत, अफगानिस्तान र पाकिस्तान गरी आठ राष्ट्र सहभागी हुनेछन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले आफनो पहिलो खेल यही पुस ८ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल पुस ११ गते श्रीलंकासँग खेल्नेछ । त्यसैगरी नेपालले समूह चरणको अन्तिम खेल पुस १३ गते कुवेतसँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोलीको कप्तानी देव खनालले गरेका छन् । प्रशिक्षकमा वसन्त शाही ठकुरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्