
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री देउवाले सिंहदरबारमा मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पु¥याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।
सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले पुष महिनाभित्रमै खोप लगाउनेहरूको प्रतिशतमा उल्लेख्य वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो । खोप केन्द्रहरूलाई बढाएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताउनुभयो ।
उहाँले हाल १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरूले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्