
दीपक श्रेष्ठ
काठमाडौं । सरकार फेरियोस् या प्रहरीको कुनै हाकिम अदलबदल होस्, पहिलो उठ्ने विषय भनेकै शान्तिसुरक्षा हो ।
गृहमन्त्रीदेखि प्रहरी अधिकारीहरूले मुलुकको शान्ति सुरक्षा मजबुत भएको दाबी गरिरहँदा प्रहरीकै तथ्याङ्कले भने त्यो सत्य स्वीकार्दैन । समाजमा बढ्दो कहालीलाग्दा प्रकृतिका घटनाले नेपाली समाजको मनोविज्ञानलाई समेत चुनौती दिने गरेको छ ।
आर्थिक वर्षको २०७७÷७८ को साउनदेखि कार्तिक महिनासम्मको चौमासिक तथ्याङ्कले आपराधिक गतिविधि उकालो लागेको देखाउँछ । केही दिनयता सिरहा र कैलालीमा आफ्नै साथीहरूबाट भएका दुई युवाहरूको विभत्स हत्या सुन्दै कहालीलाग्दा छन् ।
त्यसबाहेक विगतको तुलनामा यो वर्ष बैकिङ्ग कसुरको मुद्दा दोब्बर छ भने लागुऔषधको मुद्दा झण्डै ५० प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । त्यस्तै अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर अघिल्लो वर्षको तुलनामा ४२ र चोरी अपराध ४१ प्रतिशतले बढेको देखाउँछ ।
मानव बेचविखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी जस्ता अपराध ७ दशमलब ५८ प्रतिशतले बढेको छ ।
प्रहरी भने गम्भीर प्रकृतिका अपराधमा कमी आएको दाबी गर्छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवर, बिगो जरिवाना झण्डै दोब्बर र राजश्व संकलन यस अवधिमा उल्लेख्य बढेको बताउनुुहुन्छ ।

सुरक्षा भनेको तथ्याङ्क नभएर नागरिकभित्रको आत्मविश्वास हो । प्रहरीको संख्या वा उसको दावी सुरक्षाको मापदण्ड होइन । त्यसैले आत्मविश्वास बढाउने सुरक्षा प्रत्याभूति दिनेतर्फ राजनीतिक र प्रहरी नेतृत्वको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्