१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छ पुस्तादेखि ढिके नुनको व्यापार, ७ दशक कटेकी सुवर्णको लोभलाग्दो सक्रियता

भन्छिन्, ‘मसँग व्यापार गर्ने आँट छ’

2.132k
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । झण्डै दुई हजार वर्ष पुरानो काठमाडौंको असन बजार । काठमाडौंमा ठूला–ठूला सपिङ मलहरू खुले पनि धेरैको रोजाइमा असन बजार पर्छ ।

हुन पनि असनमा नपाइने भन्ने कुनै सामान नै हुँदैन । लामो कालखण्ड बिताएकाले होला असनको व्यापारमा पुस्तान्तरण पाइन्छ । सुन्दा पत्याउन गाह्रो तर यहाँ ६ पुस्तादेखि ढिके नुनको व्यापार गरिरहेका व्यापारी पनि भेटिन्छन् ।

ढिके नुन व्यापारी सुर्वण डंगोल श्रेष्ठको दैनिकी भगवान बुद्धको नित्य आराधना गरेर सुरु हुन्छ । ७ दशक उमेर काटिसकेकी उनको सक्रियता देख्दा लाग्छ उनको युवा जोश मरेको छैन । असन, कोथुननिमा ढिके नुन व्यापारमा आफ्नो पुर्खाको विंडो थामेर बसेकी उनी छैठौं पुस्ता हुन् ।

२०५० सालमा श्रीमान्को निधनपछि नुनको व्यापार उनैले धानेकी छन् । नुन बेच्न राख्ने काठको भाँडो नै तीन सयवर्ष भन्दा पुरानो छ । सुवर्ण भन्छिन, ‘यो भाँडोमा मेरो पुर्खासँगको भावनात्मक सम्बन्ध जोडिएको छ ।’

आयोडिनयुक्त प्याकेटको नुन भित्रिएपछि ढिके नुनको व्यापारमा कमी आए पनि आफूले व्यापारलाई नछोडेको उनी बताउँछिन् । उनका अनुसार सुगर, बल्डप्रेसर, थाइराइड र घुँडा लगायत जोर्नीको समस्यामा फाइदा गर्ने भएकाले उपभोक्ताहरू बढिरहेका छन् ।

अर्थिङ, बरफ, कुल्फि बनाउनेहरू उनका नियमित ग्राहक हुन् । यट्खाका कृष्णकाजी महर्जन स्वास्थ्यको लागि ढिके नुन राम्रो भएकोले वषौंदेखि प्रयोग गरिहरको बताउनुहुन्छ । आयोनुन खाँदा थाइराइडलगायतका विभिन्न समस्या देखिएको उहाँको भनाइ छ ।

निःसन्तान उनी स्वास्थ्यले साथ दिएसम्म नुनकै व्यापार गर्ने बताउँछिन । उनी भन्छिन्, ‘मसँग व्यापार गर्ने आँट छ ।’

सुवर्ण युवाहरूलाई प्रेरणाको श्रोतसमेत बनेकी छन् । वर्षेनी विदेसिनेहरुको माझ पुस्तौंदेखि धैर्यका साथ व्यापार व्यवसायलाई निरन्तरता दिन सक्नु पनि केही उद्यम गर्ने प्रवल इच्छाशक्तिको उपज हो । देश बनाउन यस्ता कर्मयोगीहरूको सधैँ आवश्यकता रहिरहन्छ ।