
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएनलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेको हो ।
अध्यक्ष श्रेष्ठलाई आफूलाई सर्वोच्च अदालत प्रशासनले फोन गरेर अदालतको कामकारवाहीमा प्रभाव पर्ने भन्दै अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न आग्रह गरेको बताउनुभयो । तर उहाँले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
नेपाल बार एसोसिएनको नेतृत्वमा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै करिब दुई महिनाले नियमित आन्दोलन तथा प्रर्दशन गर्दै आएका छन् । उनीहरुले हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शन पछि कोणसभा गर्दै आएका छन् । सो क्रममा हाते माइक प्रयोग गर्ने गरिएको छ । सर्वोच्च अदालत प्रशासनले माइक प्रयोगलाई हटाउन खोजेको हो । १२ बजे कानून व्यवसायीहरुको प्रदर्शन सकिएपछि मात्रै सर्वोच्च अदालतमा इजलास बस्ने गरेको छ । आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्