
मालती घोरासैनी
काठमाडौं । काठमाडौं उपत्यकाभित्र मात्रै ८ हजार भन्दा बढी छाडा गाईगोरु छन् । राष्ट्रिय जनावर गाईको परापूर्व कालदेखि नै देवताको रुपमा हिन्दुहरूले पूजा गर्दै आएका छन् ।
पशुपतिको नन्दी सेवा स्थलमा साना, ठूला र वृद्ध गरी १ सय ५० वटा भन्दा बढी गाई, बाच्छा र साँढे छन् । सहर आसपासमा बेवारिसे र छाडा छोडिएका गाईगोरुको आश्रयस्थल बनेको छ नन्दी सेवा स्थल । २०७१ सालबाट आर बी न्यौपानेले अभियान नै सञ्चालन गरेर यस्ता गाईगोरुको संरक्षण र सम्वर्द्ध्नमा लाग्नुभएको छ ।
संरक्षणमा रहेका गाईगोरुको पालनपोषणका लागि दैनिक ५० हजार भन्दा बढी खर्च हुन्छ । कुनै सामाजिक संस्थाले सहयोग नगरे पनि विशुद्ध सामाजिक सेवामा आफूले अभियान थालेको अभियन्ता यमनाथ दाहाल बताउनुहुन्छ ।
चर्का भाषण र माइकले मात्र हिन्दु राष्ट्र कायम नहुने भन्दै उहाँले सडकमा छाड गाई देख्न नहुने धारणा राख्नुहुन्छ । गाईलाई माताको नाम मात्र दिएको र सेवा नगरेको उहाँको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत बागमती निदी किनारमा रहेको यो संरक्षण स्थलमा स्थानको अभाव हुँदै गएको छ । विशुद्ध सामाजिक सेवाका लागि केही व्यक्तिको अगुवाइमा सुरु भएको यो अभियानले बेवारिसे र छाडा छोडिएका चौपायाहरुले संरक्षण मात्र पाएका छैनन्, राष्ट्रिय जनावरको रुपमा पुजिने गौमताको संरक्षण पनि भएको छ ।
हिन्दु धर्मअनुसार पूजा गरिने गाईलाई लक्ष्मीको प्रतिकको रूपमा पनि मानिन्छ । यस्ता जनावरलाई बेवारिसे छाड्नुभन्दा संरक्षण गर्नु नै पुन्यको काम हुन्छ । मनकारी व्यक्तिले अभियान चलाएर पशु चौपायाको संरक्षण गर्दा राज्यका सरोकारवाला निकायले कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ ।
व्यक्तिले आफ्नो लगनशिलता र धैर्यतामा गाईबाच्छाको संरक्षण गर्दा पनि राज्यले सहयोगका लागि चासो नदेखाएको अभियन्ता छायाँकला दाहाल बताउनुहुन्छ । सामाजिक संघसंस्था, व्यक्ति र सरकारबाट आफूहरूले कुनै पनि राहत उपलब्ध नगराएकोमा उहाँ राज्यप्रति गुनासो गर्नुहुन्छ ।
विश्वभर पशु अधिकारकाका लागि ठूल्ठूला अभियानहरू चलिरहेका छन् । अझ नेपालमा बहुसंख्य हिन्दुहरूले पूजा गर्ने र राष्ट्रिय जानवरको रूपमा मानिआएको गाईको संरक्षणमा व्यक्ति वा राज्यले चासो देखाउनुपर्ने हो छ । तर, संरक्षण गर्नुको सट्टा बेवारिसे अवस्थामा छाडिने गाई गोरुको संख्या दिनहुँ बढ्दै गएको छ । यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्