
-सन्जिव कार्की
सम्मान, मर्यादा र चाकरी यी तीन चिज उस्तै होइनन् । तर यी तीनै चिजलाई उस्तै बनाउन चाकरी गरेर मर्यादा र सम्मानको हामी हुर्मत लिइरहेका छौँ । हाम्रा उच्च पदस्त अधिकारी राज्यले उच्च सम्मान र मर्यादामा राख्नुपर्ने पदहरु हुन्छन् । सम्मान र मर्यादा ब्यक्ति, ब्यक्तिको हुन्छ । देशका सबै नागरिक सम्मान र इज्जतका भागीदर हुन । तर पनि राज्यको केही पद र ओहोदा विशेष र सम्पूर्णमा ख्याल गर्नुपर्ने हुन्छ । राष्ट्रपति राज्यको त्यस्तो उच्च सम्मान र मर्यादामा बस्नुपर्ने पद हो । जसरी संबैधानिक राजतन्त्रमा राजाको गल्ती हुँदैन त्यसैगरी सेरोमोनियल राष्ट्रपतिको पनि कुनै गल्ती हुँदैन ।
राज्य सन्चालनार्थ जे गर्छ जसो गर्छ त्यो राज्यको कार्यकारी अधिकारी प्राप्त प्रधानमन्त्री या राष्ट्रपतिले गर्छ । जस अपजसको भारी कार्यकारी जो हुन्छ उसैको भाग्यमा पर्छ । हाम्रो देशमा पनि राष्ट्रपति सेरोमोनियल मात्रै भएकोले ऊ मात्रै मर्यादा र सम्मानको हकाधिकारी हो, जस अपजसको भागिदार होइन । मर्यादा संस्थाको हुन्छ । राज्यले संस्थाको रूपमा औपचारिक र उच्च सम्मान राष्ट्रपतिलाई दिन्छ यो जहाँ र जुनसुकै देशको चलन हो । ब्यक्तिको मर्यादा उसको आफ्नो स्वअनुशासन र शैलीमा पनि निर्भर रहन्छ । सार्वजनिक व्यक्ति भएपछि उसको हर व्यबहार, शैली र तरिका जनताले नजिकबाट नियालेका हुन्छ्न । माओत्सेतुङले जनताको नजरलाई दुर्बिन भनेर उसै भनेका होइनन् । हाल दोस्रो कार्यकाल राष्ट्रपति गुजार्दै गरेकी बिद्या भण्डारी पहिलो कार्यकाल भन्दा अहिले बढी बिबादित र सक्रिय राजनीतिमा रहे झैँ देखिएको कुरा सार्वजनिक सत्य र सबैले अनुभव गरेको कुरा हो ।
नेकपा भित्रको आन्तरिक राजनीतिमा खेलेको र मन्त्री, राजदूत र विभिन्न निकायमा आफ्नो पनि भाग खोजेको आरोप स्वयं नेकपाका नेताहरु नै लगाउन थालेपछि अरुले सहजै अनुमान गर्ने भए विद्या देवी भण्डारी सक्रिय राजनीति मै हुनुहुन्छ । यहाँ प्रश्न उठछ संस्थाको मर्यादा कायम गर्न व्यक्तिको भुमिका र पदीय आचरण उत्तिकै जिम्मेवार रह्न्छ अत राष्ट्रपति राज्यको अभिभावक भन्दा पार्टीको नेताको भुमिका निभाइ रहनु भएको छ । अर्थात दोहोरो भुमिकामा उहाँ हुनुहुन्छ । निश्चय पनि यो अनपेक्षित र मर्यादा अनुकुल नैतिकता होइन । यस्तो अमर्यादित हुन कसले उक्साउछ, सिकाउछ ? राष्ट्र प्रमुखमा रहेको ब्यक्ति पार्टी विशेषको आन्तरिक मामलामा चलखेल गर्न मिल्छ ? कुनै गुट विशेषको पक्षमा तिकडम बाजीमा उत्रन सुहाउछ ? नेकपा पार्टी कै अर्को लबिका नेतालाई बिझाउने गरि शितलनिवासलाई प्रयोग गर्न मिल्छ ? पार्टीको सचिवालय बैठक हापेर नेताहरूलाई डिनर भोज गरेर निर्देशन दिन अप्ठ्यारो किन लाग्दैन ? खै आफ्नो पदको गरिमा राख्न सकेको ? कम बिवादित र कम जस अपयस खप्ने पद हो सेरोमोनियल या आलंकारिक पद ।
सेरोमोनियल हुनु प्रतिष्ठा र मर्यादा हो जस अपयसको भारी बोक्ने, आलोचना, निन्दा खप्ने अनि राष्ट्रको लागि प्रतिष्ठा बाजी राखेर काम गर्ने भूमिका होइन । राष्ट्रको लागि असल थिति बसाल्ने, असल परम्परा र नवीन संस्कृति र समयानुकुल कार्य सम्पादन, सबैको अभिभावक सबैको साझा संस्था । सार्वजनिक हित र महत्वलाई सर्वोपरी ठान्ने । देशको गरिमा प्रतिष्ठा र इज्जतलाई आफू र आफ्ना भन्दा माथि सम्झने । शिरमा देश र जनतालाई राख्ने । देशको गरिमा र प्राणप्रतिष्ठा नै सर्वेसर्वा हुने कुनै बाद, सिद्दान्त भन्दा पृथक र फरक राष्ट्र, राष्ट्रियता देश र जनता, मनावताबाद नै आफ्नो अजस्र प्रेरणा शक्ति अनि मर्यादाको मूल स्रोत र सामर्थ्य भनेर बुझ्ने व्यक्ति नै राष्ट्रप्रमुख र देशको बिशिस्ट व्यक्ति हुन् र बन्न सुहाउँछ ।
हिजो कहाँ थिए ? को थिए ? कुन पृष्ठभुमि, कुन सिद्दान्त र वादमा थिए त्यो महत्वपूर्ण कुरा होइन । हिजोको आवद्धता संलग्नता र सक्रियता केवल मिठो स्मृति हुनुपर्छ । विगतबाट प्रभावित, भावित र कुण्ठित हुनुहुँदैन । राष्ट्रको उच्च ओहोदा र पद धारण गरेपछि आफ्नो घेरा पनि फराकिलो बिस्तृत र विस्तारित बनाउनुपर्छ । समग्र सोच, शैली, ब्यबहार र कार्यभार देशको लागि हुनुपर्छ केवल देशको लागि । जन्मदै ठुलो मान्छे बन्ने कुनै कुल र खान्दानको जन्मको आधारमा ठुलो बन्ने र हुने विगतको राजतन्त्रतात्मक व्यवस्था फालेर कर्मको आधारमा, क्रियाशिलताको आधारमा क्षमता र दक्षता अनि लगन र लगावको आधारमा पद प्रतिष्ठा र अवसर पाउने, लिने र खोज्ने व्यवस्था हो गणतन्तत्रात्मक पद्धती । जहाँ जनतासँग दुरी होइन सामिप्यता र सहजता र निकटता अपेक्षित हुन्छ । सरल र जनताको प्रतिनिधि भएको हेर्ने चाहे जन जनको हुन्छ बिडम्बना उल्टो भै रहेको जनताको बुझाइ छ ।
राष्ट्रपति राजतन्त्रका राजाहरु भन्दा पनि चर्को औपचारिकतामा र जनता भन्दा भिन्न छुट्टै र विशिस्ट ठान्दै गरेको दृश्यहरु क्रमशः आइरहेको छ । राजा महराजा भन्दा पनि माथि राखेर जहाँ र जहिले पनि प्रस्तुत हुनु लोकतान्त्रिक मर्म र भावना होइन । सवारीबाट ओर्लन पनि पिर्का राख्नुपर्ने र जहाजमै सोफा बोकेर ओर्लने बित्तिकै चाकरी बजाउने जुन परम्परा बसेको छ त्यो हाम्रो समाज र व्यवस्थाले पचाउन सकेको छैन । राष्ट्रपतिको अनावश्यक सान र शैकत र खर्चिलो तडक भडकको दृश्यले जनताको आँखा बिझाएको छ । आफ्ना वरपर रहेका चाकरी बाजले गाउने स्तुति, भजन, किर्तन, धुपदिप र आरती उतार्नेहरुको भिडबाट ब्यक्ति स्वयंले बच्न सक्नुपर्छ तर अनुभवी राष्ट्रपतिमा यो क्षमताको अभाव देखियो ।
पहिलो कार्यकाल भन्दा अहिले झन झिनामसिना कुराको ख्याल नगरेर विवादमा पर्नु भनेको निश्चय नै आफूलाई राजअवतार या त्यो भन्दा धेरै माथि राख्ने र देख्ने दृष्टिदोष हो । धरातल बिर्सनुको परिणाम हो । राष्ट्रपति जन्मसिद्ध र आजन्म होइन तसर्थ जनताको प्रतिनिधिले आफ्नो वास्तविक हैसियत भुलेर आफ्नो सीमा र बाध्यता सम्झन सक्नुपर्छ किनकी भोली ओर्लने र बस्ने भुइँमा नै हो । सम्मान र औपचारिकताको नाममा चाकरी हुँदैछ कि ब्यबस्थापन यो बुझ्नु र देशको परिस्थिति र आवश्यकता अनुरुप आफ्नो भ्रमण, हिँडाइ बोलाइलाई परिवर्तन गर्नु जरुरी छ ।
केही महिना अघि प्रमुख प्रतिपक्षी नेताको शारीरिक कमजोरीलाई लिएर राष्ट्रपतिले खिज्याएको अति अशोभनीय थियो । राष्ट्रपति साझा र सबैको हुनुपर्छ नकि ब्यक्ति गुट र पार्टीको होइन । हिजो आफ्नो विरुद्ध भोट गर्नेको पनि राष्ट्र प्रमुख हो । कसले जित्यो कसले जितायो त्यो भिन्न कुरा हो । मान्छेसँग लगाव हुन्छ नै । कारण जडतामा समेत आकर्षण गर्ने क्षमता हुन्छ भने मान्छे कतै र कसैसँग प्रभावित हुनसक्छ ।
निस्वार्थता, निष्पक्षता , तटस्थता, असंलग्नता र स्वतन्त्रता सापेक्षतामा हुन्छ । जडताले समेत आकर्षित गर्ने क्षमता राख्छ भने मान्छे कतै न कतै आकर्षित नभइरहन सक्तैन् । देशको अभिभावकीय भूमिकामा रहने, न्यायिक निकाय, प्रशासन सेवा अनि जनताको सरोकार रहेका क्षेत्रमा देशको संविधान, ऎन, कानुन, नियम, नियमावली, नीति, नैतिकता र सामाजिक मुल्यमा आधारित भएर न्यायिक निरुपण हुनुपर्छ । राष्ट्रपतिको भुमिका पनि समाजले प्रश्न उठाउन नमिल्ने हुनुपर्छ । तर राष्ट्रपति अमुक पार्टी अमुक गुटको नेता बनेको किमार्थ स्वीकार्य पक्ष होइन ।
राष्ट्रपति, राजामहाराजा देश विदेशका प्रधानमन्त्री विशिष्ट पाहुना अथितिहरुको सुरक्षा सम्मान र मर्यादाको लागि गरिने औपचारिक सुरक्षा प्रबन्ध स्वागत बिदाईलाई झन्झट र अप्ठ्यारो र बोझको रुपमा नलिऔं, नबुझौं । औपचारिक शिष्टता, मर्यादा, अनुशासन र कर्तव्य राज्यको आफ्नो धर्म हो, संस्कृति हो, परम्परा हो जसलाई राज्यले सानोतिनो मुल्य चुकाएर भएपनि पुरा गर्नुपर्ने हुन्छ पुरा गर्छ । यसलाई अन्यथा र बोझ अनि घाटा नाफाको अर्थशास्त्रसंग बुझ्ने गल्ती गर्नु हुँदैन । पाहुनाहरु, अनि देशका विशिष्ट व्यक्तिहरुको यात्रा, भ्रमण र आगमन र गमनमा राज्यले आफ्नो कर्तब्य पुरा गर्दा भूमिका निभाउँदा आइपर्ने सानोतिनो अल्झन व्यवधान ढिलाढाली, केही समय हुने सवारी साधनको अवरुद्द्ता संसार भरकै चुनौती र समस्या अनि रित र चलन र यथार्थता हो । यो बिषयलाइ सत्ताधारीलाई गाली गर्ने, अपजस दिने बिरोध गर्ने उपयुक्त मौकाको रुपमा जुनसुकै कालखण्डमा जो सुकैले गर्नु अनुचित, अनुपयुक्त र आपतिजनक हो । सभ्य समाज र संस्कृति निर्माणमा यसो गर्नुहुन्न गरिनुहुन्न । जनता सम्मान दिन कन्जुस्याइँ गर्दैनन् तर चाकरी जनताको अभिष्ट होइन । राष्ट्रपतिको भूमिकाको अभिभावकको होस राजा महाराजाको जस्तो होइन । राष्ट्रपति चाकरीबाट बच्नुपर्छ, सम्मान आफसेआफ मिल्छ ।
प्रतिक्रिया दिनुहोस्